विवेक केशरी प्रसाईं
म नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुँ। यो जिम्मेवारी मेरो लागि पद र प्रतिष्ठामा सीमित छैन। यससँग मेरो राजनीतिक निष्ठा, आत्मसम्मान र कांग्रेसको भविष्यप्रतिको गहिरो चिन्ता जोडिएको छ।
विगतमा म कांग्रेसभित्र कुनै एउटा पक्षमा खुलेर उभिएको थिइनँ। मेरा लागि कांग्रेस भनेको कांग्रेस नै थियो। तर, आज आफ्नै पार्टी दुई पक्षमा विभाजित भएको देख्दा मनमा चिन्ता र डर दुवै उत्पन्न भएका छन्। परिस्थितिले मलाई पनि एउटा पक्ष रोज्नुपर्ने अवस्थामा पुर्यायो। अन्ततः म इतर पक्षमा उभिएँ।
तर, एउटा पक्ष रोज्नु मेरो राजनीतिक बाध्यता र परिस्थितिजन्य निर्णय हो। कांग्रेस विभाजित रहिरहोस् भन्ने मेरो चाहना कदापि होइन। आज पनि मेरो मनले खोजेको कांग्रेस एउटै हो।
संस्थापन र इतर पक्ष दुवै आ–आफ्नो अडानमा अडिग देखिन्छन्। दुवैका आफ्नै तर्क, असन्तुष्टि र गुनासा होलान्। तर, मेरो प्रश्न छ-हाम्रो व्यक्तिगत अडान ठूलो कि कांग्रेसको साझा भविष्य?
कांग्रेसमा फरक विचार हुनु स्वाभाविक हो। नेतृत्वका लागि प्रतिस्पर्धा हुनु पनि लोकतान्त्रिक अभ्यास हो। तर, विचारको भिन्नता सम्बन्धमा दूरी बढाउने र नेतृत्वको प्रतिस्पर्धा स्थायी विभाजनमा बदलिने अवस्था आउनु हुँदैन।
कांग्रेस कुनै एक व्यक्ति, नेता वा समूहको मात्र संस्था होइन। यो अनेकौँ पुस्ताको संघर्ष, त्याग र बलिदानले निर्माण गरेको साझा राजनीतिक धरोहर हो। यसलाई जोगाउने र अझ सुदृढ बनाउने जिम्मेवारी हामी सबैको हो।
म अहिले इतर पक्षमा छु। तर, यसको अर्थ संस्थापन पक्षका साथीहरू मेरा लागि पराया हुन् भन्ने होइन। हिजोसम्म हामी एउटै कांग्रेसका साथी थियौँ। आज राजनीतिक परिस्थितिले फरक ठाउँमा उभ्याए पनि हाम्रो इतिहास, राजनीतिक संस्कार र भविष्यप्रतिको जिम्मेवारी साझा छ।
दुवै पक्षका आदरणीय नेताहरूलाई मेरो विनम्र आग्रह छ-एकअर्काको अस्तित्व र योगदानलाई सम्मान गर्दै संवादको बाटो खोल्नुहोस्। आफ्नो अडानको समीक्षा गर्नुहोस् र सहमतिका लागि आवश्यक लचकता देखाउनुहोस्।
एक कदम पछि हट्दैमा कोही पराजित हुँदैन। बरु, पार्टीलाई जोड्न सक्नु नै नेतृत्वको वास्तविक परिपक्वता हो। नेतृत्वको उचाइ अर्को पक्षलाई कमजोर बनाउँदा होइन, फरक विचार राख्नेहरूलाई समेत समेटेर अघि बढ्दा देखिन्छ।
म कुनै पक्षको विरोध गर्न चाहन्नँ। तर, कांग्रेस विभाजित भएको अवस्थाप्रति मौन पनि रहन सक्दिनँ। महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा यो चिन्ता व्यक्त गर्नु मेरो जिम्मेवारी पनि हो।
आज मेरो मनमा एउटै प्रश्न छ-हामीले जीवनभर विश्वास गरेको कांग्रेसलाई यसरी नै विभाजित अवस्थामा छाड्ने हो त? मलाई कुनै एउटा पक्षको मात्र विजय हेर्नु छैन। दुवै पक्षका साथीहरू फेरि एउटै राजनीतिक घरमा सम्मानपूर्वक उभिएको हेर्न चाहन्छु।
म इतर पक्षमा उभिएको छु, तर मेरो चाहना इतर पक्षको मात्र कांग्रेस होइन। मेरो चाहना सबैको साझा कांग्रेस हो, जहाँ फरक विचार राख्नेहरूले पनि सम्मानपूर्वक आफ्नो स्थान पाऊन् र पार्टीको भविष्य निर्माणमा समान रूपमा योगदान गर्न सकून्।
मेरो आग्रह छ-अब प्रतिष्ठाको प्रतिस्पर्धाभन्दा संवाद र सहमतिलाई प्राथमिकता दिऔँ। फरक विचारलाई सम्मान गरौँ र साझा भविष्यका लागि जिम्मेवार बनौँ। व्यक्तिगत अडानभन्दा पार्टीको एकता र भविष्यलाई माथि राखौँ। दुई पक्ष रहून्, फरक विचार रहून्, तर कांग्रेस दुई नहोस्।
प्रसाईं : नेपाली कांग्रेस, झापा निर्वाचन क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य (इतर पक्ष) हुन् ।





