बालापनको दसैँ हरायो, जिम्मेवारीको दसैँ आयो

अप्सरा आचार्य

दसैँ नजिकिँदै गर्दा मनमा खुसीभन्दा बढी पुराना सम्झनाहरूले ढोका ढकढक्याउन थाल्छन्। आँखाअगाडि बालापनका ती दिनहरू घुम्न थाल्छन्, जहाँ सानो कुरामै संसारभरको खुसी भेटिन्थ्यो। न कुनै चिन्ता थियो, न जिम्मेवारीको भारी। बस्, दसैँ आओस्, नयाँ लुगा लगाउन पाइयोस्, मीठो खान पाइयोस् अनि मामाघर जान पाइयोस् भन्ने रहर हुन्थ्यो।

बालापनको दसैँमा नयाँ लुगाको महत्त्व नै बेग्लै थियो। धनी होस् वा गरिब, बुबाआमाले आफूले च्यातिएको लुगा लगाए पनि छोराछोरीलाई दसैँमा एउटा नयाँ लुगा किनिदिनुहुन्थ्यो। कसैले नयाँ डिजाइनका लुगा लगाउँथे त कसैले नयाँ स्कुलको पोसाक लगाएरै चित्त बुझाउँथे। हामीले ‘मलाई यो चाहियो’ भनेपछि बुबाआमा र दाजुले जसरी भए पनि ल्याइदिनुहुन्थ्यो। कहिलेकाहीँ त्यही दिन चाहेको सामान नपाउँदा दिनभरि रोएर बस्थ्यौँ, तर भोलिपल्ट त्यो सामान हातमा पर्दा संसार जितेजस्तो लाग्थ्यो।

आज सम्झिँदा मन रुन्छ—हाम्रो सानो खुसीका लागि बुबाआमाले कति ठूला रहरहरू त्याग्नुभयो होला! हाम्रो दसैँ घटस्थापनादेखि नै सुरु हुन्थ्यो। गाउँमा कहाँ पिङ लगाइयो, कसले कस्तो लुगा किन्यो, कसको घरमा के पाक्यो भन्दै साथीसँगै गाउँ घुम्थ्यौँ। गाउँको दुर्गापूजामा दिनभरि रमाउने, पिङ खेल्ने अनि रात परेपछि दाजु लिन आएपछि मात्र घर सम्झिने ती दिनहरू कति सुन्दर थिए!

पिङ खेल्न साना केटाकेटीको लामो लाइन हुन्थ्यो। ठूला दादा–दिदीको पालो नआएसम्म हामीले पिङ खेल्न पाउँदैनथ्यौँ। कहिलेकाहीँ पिङ खेल्न जान्ने र नजान्ने दुई जनालाई एउटै पालोमा राखिन्थ्यो। पिङ मच्चिँदै जाँदा कसैलाई डर लाग्थ्यो त कसैको सन्तुलन बिग्रिन्थ्यो। कतिपय अवस्थामा लडेर चोट लाग्ने र अस्पतालसम्म पुर्‍याउनुपर्ने अवस्था पनि आउँथ्यो। त्यतिबेला रमाइलोको हतारमा सुरक्षाको ख्याल कम गरिन्थ्यो।

टीकाको दिन मामाघर जाने चलन थियो। गाडीमा उभिने ठाउँसमेत नहुँदा र क्षमताभन्दा बढी यात्रु चढ्दा पनि हामीलाई मामाघर पुग्ने हतार हुन्थ्यो। यस्तो भीडभाड र असुरक्षित यात्राका क्रममा दुर्घटना हुँदा कसैको दाँत झर्ने त कसैको हात भाँचिने जस्ता दुःखद घटना पनि हुन्थे।

चाडपर्वको खुसीमा यस्ता जोखिमलाई सामान्य ठान्नु कति गलत रहेछ भन्ने कुरा आज बुझ्दै छौँ। दसैँ खुसी बाँड्ने पर्व हो, लापरबाहीले आँसु बाँड्ने समय होइन।

तर समय फेरियो। आज हाम्रा छोराछोरीलाई नयाँ लुगा र जुत्ता किन्न दसैँ कुर्नुपर्दैन। उनीहरूका इच्छा सकेसम्म पहिले नै पूरा गरिदिन्छौँ। आफ्नै बालापन सम्झिँदा आज बल्ल बुबाआमाको त्याग र सङ्घर्ष बुझ्दै छौँ।

अहिले दसैँ आउँदा खुसी त लाग्छ, तर त्यो खुसीभित्र अनेकौँ पीडा लुकेका हुन्छन्। कोही विदेशमा बसेर परिवारको अनुहार हेर्न तड्पिरहेका छन्। ‘यो दसैँ यस्तै भयो, अर्को दसैँमा पक्कै आउँछु’ भन्दै चित्त बुझाउँछन्। कोही अस्पतालको शय्यामा आफन्तको प्रतीक्षामा छन्। कोही आफ्नै देशमा भएर पनि बिरामी, रोजगारी र परिस्थितिका कारण एउटै घरमा बसेर दसैँ मनाउन पाउँदैनन्।

हिजो दसैँमा नयाँ लुगाको प्रतीक्षा हुन्थ्यो, आज आफ्ना मान्छे घर फर्किने प्रतीक्षा छ। हिजो मामाघर जाने हतार हुन्थ्यो, आज परिवारका सबै सदस्य एकै ठाउँमा बसेर खाना खाने रहर छ।

सायद यही नै जीवन रहेछ—हिजो हामी बुबाआमासँग खुसी माग्थ्यौँ, आज आफ्ना छोराछोरीको खुसीका लागि आफ्ना रहरहरू बिर्सिरहेका छौँ। दसैँ त हरेक वर्ष आउँछ, टीका लाग्छ, जमरा पहेँलिन्छ, तर बालापनको त्यो निश्चिन्त खुसी फर्केर आउँदैन। अब दसैँमा रहरभन्दा जिम्मेवारी धेरै छन्, हाँसोभन्दा चिन्ता धेरै छन् र भेटघाटको खुसीसँगै बिछोडको पीडा पनि जोडिएको छ।

साँच्चै, बालापनको दसैँ हरायो, जिम्मेवारीको दसैँ आयो। आज दसैँ त मनाउँछौँ, तर मनको कुनै कुनामा त्यो पुरानो बालापन खोजिरहन्छौँ।

Scroll to Top