शिवसताक्षीमा डिजेल ट्याङ्की पड्किएर आगलागी, २० लाखभन्दा बढीको क्षति

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

आइतबार साँझ करिब ७ः३० बजे जमिनमुनि रहेको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट टिपरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमान्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी चौकी माइधार र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट समेत टोली परिचालन गरिएको थियो।

शिवसताक्षी नगरपालिकाको दमकल, प्रहरी र कम्पनीका कर्मचारीको सहयोगमा रातभर आगो फैलिन नदिन प्रयास गरिएको थियो। आगलागी सोमबार बिहान ५ः३५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

Scroll to Top