लवकुमार चौधरी
घटस्थापनाको दिनदेखि घरमा जमरा राखी माता दुर्गाको पूजा गरिन्छ। त्यसपछि फूलपाती, महाअष्टमी, महानवमी हुँदै विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। परिवारका सदस्यहरू एक ठाउँमा भेला हुन्छन्, नयाँ लुगा लगाइन्छ, स्वादिष्ट तथा मिठा–मिठा परिकार बनाइन्छ, आफन्तसँग भेटघाट गरिन्छ। पिङ खेल्ने, चङ्गा उडाउने तथा खुसी साटासाट गर्ने परम्परा पनि रहेको छ। दशैँले परिवार, समाज र संस्कृतिलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
नेपालमा मेला कहिलेदेखि सुरु भएको हो भन्ने अभिलेख नभए पनि शक्ति पीठ, मन्दिर र नदीप्रतिको आस्थाका कारण समय–समयमा रमाइलो मेलाका रूपमा मनाउँदै आइएको छ। विशेषगरी म झापाली भएकाले झापामा विभिन्न स्थान र समयमा लाग्ने मेलामा उपस्थित हुने गरेको छु। त्यसैले आफूले जानेका र अनुभव गरेका कुरा लेख्न मन लागेर अघि बढेको छु।
नेपालीहरूको महान् चाड विजयादशमीका बेला नवमीदेखि पूर्णिमासम्म लाग्ने स्थानीय मेलाअन्तर्गत विजयादशमीका दिन बिर्ताबजारको मेला, त्यसको भोलिपल्ट गरामनी मेला, अनि चारआली मेला, बैशाबारी मेला र फूलबारी मेला लाग्ने गर्छन्। पुस र माघमा लाग्ने माई मेला, किचकबध मेलासँगै हाल झापाभरि विभिन्न स्थानमा अन्य मेलाहरू पनि लाग्ने गरेका छन्।
यी मेलाहरूको पहिलेको रौनकता र महत्त्व आजभोलि घट्दै गएको छ। स्थानको अभाव, आम्दानीका नाममा मठमन्दिरको जमिनमा सटर बनाएर भाडामा लगाउने प्रवृत्तिलगायत विभिन्न कारण छन्। दशैँ मेला लाग्ने ठाउँलाई मास्दै गएपछि मेला भरेर दशैँ मनाउने तराईका आदिवासीहरूको संस्कृति सङ्कटमा परेको छ। परापूर्वकालदेखि दशैँमा लाग्दै आएका मेलाहरूलाई विस्थापित गर्न खोजिएपछि मेला भरेर दशैँ मनाउँदै आएका आदिवासीहरूको मेला संस्कृति सङ्कटमा परेको हो। स्थानीय तथा प्रदेश सरकारले यसको विशेष संरक्षण, प्रवर्द्धन, जगेर्ना र व्यवस्थापन गर्नुपर्छ। गुणस्तरीय मालसामान नपाइनु, मेलामा धुलो उड्नु र अव्यवस्थित बन्दै जानु पनि यसका कारण हुन सक्छन्।
मलाई थाहा भएअनुसार यहाँका आदिवासी समुदायसँग कुनै प्रकारका मनोरञ्जनका साधन नभएको बेला गाउँघरमा नाच हेरेर आनन्द लिने चलन थियो। रामायण कथामा आधारित बडगाउँन मुख्य आकर्षण हुन्थ्यो। कृष्णलीला, छक्रा नाच, ढोलकी नाच, भादाखेली, घाटोसरी जाने, सिरुवा पावनी, माघी र जितिया पर्व मनाउने गरिन्छ। कति पर्वहरू मनाउन पनि छोड्दै गइरहेका छौँ।
दशैँ मेलामा जाँदा हामी गोरुगाडामा जाने गर्थ्यौँ। गाडामा राम्रा, नयाँ तथा रङ्गीबिरङ्गी तन्ना ओढाएर जाने, गोरु सजाउने र गाडाका पाङ्ग्राहरू सजाउने गरिन्थ्यो। मेला भनेपछि सानोमा हामी हुरुक्कै हुन्थ्यौँ। नयाँ लुगा, जुत्ता र मोजा लगाएर, मासुभात खाएर मेला जान्थ्यौँ। त्यहाँ जुलेबी, मुरै, बुनिया, खजुरी, मिठाई आदि परिकार खाने गर्थ्यौँ।
झापाभरिका आदिवासी समुदायका मानिसहरू मेलामा आउने गर्थे। विवाह गर्न लायकका केटाकेटीहरू भेटघाट गरेर भागी तथा मागी विवाह पनि मेलाबाटै हुन्थ्यो। दशैँ मेलाको विशेष आकर्षण सन्थाल नृत्य हुन्थ्यो। आज यो संस्कृति लोप हुने डर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट यो नृत्य हेर्न मानिसहरू आउँछन्।
हाल झापाका धेरै ठाउँमा मेला लाग्ने गरेका छन्। बिर्तामोडमा पनि विगतदेखि नै मेला लाग्दै आइरहेको छ। कुनै व्यक्तिले, कुनै समूहले त कुनै सङ्घसंस्थाले हाउजी, रमाइलो मेला, कृषि मेला, पुस्तक मेला र प्राविधिक मेला लगाउँदै आएका छन्। विगत केही वर्षदेखि बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला व्यवस्थित रूपमा लगाउँदै आइएको छ।
हालै रसुवागढीमा गएको बाढीपहिरो र भोटेकोशीको बाढीले देशमा ठूलो जनधनको विनाश गरेको छ भने धेरै मानिस बेपत्ता भएका छन्। त्यसैले देश शोकको अवस्थामा छ। यस वर्ष दशैँ केही खल्लो भए पनि दशैँ केवल धार्मिक पर्व मात्र होइन, नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रिय सांस्कृतिक पर्व पनि हो। यो पर्वले परिवारबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ र ठूलाबडाप्रति सम्मान गर्ने संस्कार सिकाउँछ। आपसी प्रेम, सद्भाव, क्षमा तथा सहयोगको भावना विकास गराउँछ। देश–विदेशमा रहेका नेपालीहरू समेत यस अवसरमा आफ्नो परिवार र जन्मथलो सम्झन्छन् तथा सम्भव भएसम्म घर फर्किने प्रयास गर्छन्। विजयादशमीको सबैलाई हार्दिक शुभकामना!






