दसैँ फेरिएको हो कि हामी ?

गिष्मा सापकोटा
बिहानैदेखि खुलेको आकाश, शरद ऋतुको समशीतोष्ण मौसम, ठाउँठाउँमा ठड्याइएका लिङ्गे पिङ र घरका छाना तथा बाटामाथिबाट धागोमा बाँधिएर आकाशमा उड्ने चङ्गा। यी सबै दृश्यले नेपालीको महान् चाड दसैँलाई भव्य रूपमा स्वागत गरिरहेका हुन्थे।
घरघरमा दसैँको तयारी सुरु हुन्थ्यो। घरआँगन लिपपोत गरेर सफा गरिन्थ्यो। गाउँघरमा मालश्री धुन घन्किन्थ्यो। बजारमा नयाँ लुगा किन्नेहरूको भदौदेखि नै भीड लाग्थ्यो। बालबालिकामा नयाँ लुगा लगाउने, पिङ खेल्ने, मामाघर जाने र चङ्गा उडाउने उत्साह बेग्लै हुन्थ्यो। दसैँ आउनुअघि नै गाउँघरको वातावरण उल्लासमय बन्थ्यो।
घरबाट टाढा रहेकाहरू कामकाज थाती राखेर भए पनि परिवारसँग दसैँ मनाउन घर फर्कन्थे। विदेशबाट चाडपर्व मनाउन आउनेहरूको पनि लर्को लाग्थ्यो। वर्षभरि काममा व्यस्त रहनेहरूका लागि दसैँ परिवारसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र आत्मीयता नवीकरण गर्ने विशेष अवसर हुन्थ्यो।
दसैँ केवल टीका र जमरा लगाउने पर्व मात्र थिएन। यो त परिवारको मिलन, सम्बन्धको नवीकरण र बाल्यकालका मीठा सम्झनालाई फेरि एकपटक जीवन्त बनाउने अवसर पनि थियो।
तर अहिले समय फेरिएको छ। बिहानैदेखि आकाश खुल्छ, शरद ऋतु पनि आउँछ, तर खुलेको आकाशले पहिलेको जस्तो उत्साह जगाउन छाडेको छ। ठाउँठाउँमा ठडिने लिङ्गे पिङ आजभोलि कम देखिन थालेका छन्। आकाशमा पखेटा फिजाएर उड्ने चङ्गाको दृश्य पनि विरलै देखिन्छ। कुनै बेला पिङ बनाउने पल्लो घरका दाइ र माथ्लो घरका काका रोजगारीको खोजीमा विदेशिएका छन्। गाउँघरमा चाडपर्वको रौनक थप्ने धेरै मानिस आज आफ्नो जन्मभूमिभन्दा टाढा छन्।
कुनै समय दसैँ आउनुअघि नै पिङ बनाउने र चङ्गा उडाउने चटारो हुन्थ्यो। अहिले भने कतिपय ठाउँमा पिङ हाल्ने मानिससमेत भेट्न मुस्किल हुन थालेको छ। गाउँघरमा बाल्यकाल बिताएका धेरैका लागि ती दृश्य अब सम्झनामा मात्र सीमित हुँदै गएका छन्।
पिङ खेल्न रहर गर्ने र चङ्गा उडाउन मन पराउने बालबालिका पनि प्रविधिले घरको चौघेराभित्रै सीमित हुन थालेका छन्। ‘चा चा हुई’ भन्दै पिङतिर दौडिने बालबालिका आजकल सीओसी र फ्रिफायरजस्ता डिजिटल खेलमा रमाउन थालेका छन्। प्रविधिको विकास आफैँमा नराम्रो होइन, तर यही प्रविधिले हाम्रा बालबालिकालाई प्रकृति, साथीभाइ र सामूहिक रमाइलोबाट टाढा बनाइरहेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ।
रातो माटो र कमेरोले लिपिएका घरहरू बिरलै देखिन्छन्। घरआँगन लिपपोत गर्ने, सरसफाइ गर्ने र दसैँका लागि आवश्यक सामग्री जुटाउने पुरानो चटारो पनि धेरै ठाउँमा हराउँदै गएको छ। गाउँघरमा घन्किने मालश्री धुन कम सुनिन थालेको छ। समयसँगै घर बनाउने शैली फेरियो, रहनसहन फेरियो र चाडपर्व मनाउने तरिका पनि बदलियो। तर यी परिवर्तनसँगै दसैँको पुरानो आत्मीयता पनि कतै हराउँदै गएको त छैन?
चाडपर्व नजिकिएपछि जन्मभूमि छाडेर विदेशिएका परिवारजन घर फर्कने क्रम त चलिरहन्छ। तर विडम्बना, चाडपर्वकै मुखमा देश छाड्नेहरूको लर्को पनि उत्तिकै लामो देखिन्छ। कोही परिवारसँग दसैँ मनाउन घर फर्किरहेका हुन्छन् भने कोही आफ्नो र परिवारको भविष्य बनाउन रोजगारीको खोजीमा देश छाडिरहेका हुन्छन्। परिवारको खुसीका लागि नै परिवारबाट टाढिनुपर्ने बाध्यता आफैँमा कति विडम्बनापूर्ण छ!
बसाइँसराइ र वैदेशिक रोजगारीले गाउँघरको जनजीवनमा ठूलो परिवर्तन ल्याएको छ। कुनै समय दसैँमा भरिभराउ हुने घरहरू आज सुनसान भेटिन्छन्। छिमेकीसँगै बसेर पिङ हाल्ने, रमाइलो गर्ने र चाडपर्वको खुसी बाँड्ने मानिस नै गाउँमा नहुँदा पुरानो रौनक कसरी फर्कियोस्?
पारिवारिक जमघट, रमझम र सुखदुःख साटासाट गर्ने समयलाई प्रविधिले साँघुरो बनाउँदै लगेको छ। सामाजिक सञ्जालले टाढा रहेका प्रियजनलाई नजिक ल्याएको छ, तर सँगै रहेका प्रियजनलाई समेत टाढा बनाइदिएको छ। परिवारका सदस्यसँगै बसेर गफिने, पुराना कुरा सम्झिने र हाँसो बाँड्ने समय मोबाइलको पर्दाभित्र हराउँदै गएको छ। एउटै घरमा बसेर पनि एकअर्कासँग संवाद गर्नुभन्दा मोबाइलमा रमाउने प्रवृत्ति बढ्दै गएको छ। भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा टाढिँदै जाने अवस्था हाम्रो पारिवारिक जीवनको नयाँ चुनौती बनेको छ।
यति भन्दै गर्दा देशको पछिल्लो अवस्था र हामीले भोगेका घटनालाई पनि बिर्सन सकिँदैन। कोभिड महामारीले विश्वकै आर्थिक तथा सामाजिक जीवनमा गहिरो असर पुर्‍यायो। गत वर्षको जेनजी आन्दोलनले पनि देशको जनजीवन प्रभावित बनायो। यसपालि भोटेकोसी र बुढीगण्डकी क्षेत्रमा आएका बाढीले धेरैको जीवन, घरपरिवार र जीविकोपार्जन खोसेका छन्। प्राकृतिक विपत्ति र राजनीतिक उथलपुथलको पीडा भोगिरहेका परिवारका लागि चाडपर्वको खुसीभन्दा जीवन सम्हाल्नु नै ठूलो चुनौती बनेको छ। यस्ता अनेकौँ प्रहारबाट देश र समाज अझै पूर्ण रूपमा तङ्ग्रिन सकेका छैनन्।
त्यसमाथि बढ्दो महँगी र आर्थिक कठिनाइले पनि चाडपर्व मनाउन सहज बनाएको छैन। कसैका लागि दसैँ खुसी र उमङ्ग बोकेर आउँछ भने कसैका लागि टाढा रहेका आफन्तको सम्झना र आर्थिक चिन्ता लिएर आउँछ। कसैलाई नयाँ लुगा किन्ने, मीठोमसिनो खाने र परिवारसँग रमाउने रहर हुन्छ, तर आर्थिक अभावले ती रहर पूरा गर्न दिँदैन। कसैका लागि दसैँ घर फर्किने अवसर हो भने कसैका लागि घर फर्किन नसक्नुको पीडा।
यी सबै कुरा सम्झिँदा कहिलेकाहीँ लाग्छ—दसैँ फेरिएको हो कि हामी नै फेरिएका हौँ?
समय बदलिनु स्वाभाविक हो। प्रविधिको विकासलाई रोक्न सकिँदैन। रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतालाई पनि केवल भावनाले रोक्न सकिँदैन। मानिसको आवश्यकता, प्राथमिकता र जीवनशैली समयसँगै बदलिन्छन्। तर बदलिँदो समयसँगै आफ्ना परम्परा, पारिवारिक सम्बन्ध र आत्मीयतालाई कसरी जोगाउने भन्ने कुरा भने हाम्रै हातमा छ।
दसैँको वास्तविक खुसी केवल टीका र जमरामा सीमित हुँदैन। यो परिवारसँगको भेटघाटमा, सँगै बसेर हाँस्न पाउनुमा, दुःखसुख बाँड्न पाउनुमा र आफ्नोपन महसुस गर्न पाउनुमा हुन्छ। पिङ खेल्ने परम्परा हराउँदै जाला, चङ्गा उडाउने चलन घट्दै जाला र मालश्री धुनको गुञ्जन कम सुनिएला। तर यी सबैसँग जोडिएका सम्झना, सम्बन्ध र संस्कृतिलाई जोगाउने जिम्मेवारी हाम्रो आफ्नै हो।
दसैँलाई पहिलेको जस्तै बनाउन समयलाई पछाडि फर्काउन सकिँदैन। तर परिवारसँग बिताउने समय बढाएर, बालबालिकालाई मौलिक संस्कृति र परम्परासँग जोडेर, आफन्तसँग आत्मीयता साटेर र दुःखमा परेकालाई साथ दिएर दसैँको वास्तविक अर्थलाई जीवन्त राख्न सकिन्छ।
समयसँगै दसैँ मनाउने तरिका बदलिन सक्छ, तर दसैँले जोड्ने सम्बन्ध नबदलिऊन्। प्रविधिले हाम्रो जीवन सहज बनाओस्, आत्मीयता खोस्ने माध्यम नबनोस्। रोजगारी र अवसरको खोजीमा मानिस जहाँ पुगे पनि जन्मभूमि र परिवारसँगको सम्बन्ध कमजोर नहोस्।

( लेखक : हिमशिखर टेलिभिजन दमकमा कार्यरत पत्रकार हुन् )

Scroll to Top