झापा : नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२६ को ‘विशिष्ट प्रतिभा सम्मान’ वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई र ‘प्रतिभा पुरस्कार’ कवि चन्द्र रानाहाँछालाई प्रदान गर्ने निर्णय गरेको छ।वरिष्ठ गीतकार थापा झापाको बिर्तामोड नगरपालिका १ का स्थायी वासिन्दा हुन् ।
प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली गीत–सङ्गीत, साहित्य तथा कलाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दुवै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो।
विशिष्ट प्रतिभा सम्मानमा एक लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिनेछ भने प्रतिभा पुरस्कारमा एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
गीत–सङ्गीतमा शिवशंकर थापा मगरको योगदान
वि. सं .२००३ साल वैशाख १५ गते धनकुटाको चुलीवन, डाँडागाउँमा जन्मिएका शिवशंकर थापा मगरले वि.सं. २०२० सालदेखि गीत लेखन सुरु गरेका थिए। वि.सं. २०२६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराएका उनका गीत वि.सं. २०२८ सालदेखि रेडियो नेपालमा बज्न थालेका थिए।
लामो समयदेखि नेपाली गीत–सङ्गीतमा सक्रिय थापा मगरका रचना श्रोतामाझ चर्चित छन्। उनका गीतमा प्रेम, मानवीय संवेदना र जीवनका अनुभूति अभिव्यक्त भएका छन्। ‘तिमी आकाशको जुन भयौ’, ‘भित्तिन मेरी उनी’, ‘मेरो पाइला नटेकिदिनु’ तथा ‘हावासँगै बग्न भन्छु, पातसँग बोल भन्छु’ लगायतका गीत उनका चर्चित रचनामा पर्छन्।
उनको पहिलो प्रकाशित कृति ‘पाइतालाका डोबहरू’ मुक्तकसङ्ग्रह हो। ‘भित्तिन मेरी उनी’ शीर्षकको संस्मरण तथा गीति सङ्ग्रह पनि प्रकाशनोन्मुख रहेको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ।
पाँच दशकभन्दा लामो समयदेखि गीत, कविता तथा कलाका क्षेत्रमा योगदान पुर्याउँदै आएका थापा मगरलाई नेपाली गीत–सङ्गीतमा दिएको योगदानको कदरस्वरूप विशिष्ट प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
साहित्य र कलामा चन्द्र रानाहाँछाको सक्रियता
प्रतिभा पुरस्कारका लागि छनोट भएका कवि चन्द्र रानाहाँछा वि.सं. २०३७ सालमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडामा जन्मिएका हुन्। उनी साहित्य लेखन तथा कलाकर्ममा सक्रिय रहँदै आएका छन्।
प्रतिष्ठानको विज्ञप्तिअनुसार बाल्यकालदेखि चित्रकलाप्रति आकर्षित रानाहाँछाले कलाकर्मसँगै गीत, कविता, कथा तथा चलचित्रका पटकथा लेखनमा समेत योगदान पुर्याएका छन्।
उनका प्रकाशित कृतिमा ‘चौबन्दी किनिदिउँला’ ,‘गीत एल्बम, २०५६०, ‘चिनो स्माल’ ‘गीत एल्बम, २०५७०, ‘मनमा आँधी चलेपछि’ ‘गीत तथा कवितासङ्ग्रह, २०६७०, ‘भाउजु लडेको भीर’ , ‘कथासङ्ग्रह, २०६९०, ‘थिविया चराको गीत’ ,‘कवितासङ्ग्रह, २०७१’ र ‘बागदत्ता’ , ‘उपन्यास’ रहेका छन्।
गीत, कविता, कथा, उपन्यास तथा कलाका विभिन्न विधामा सक्रिय रानाहाँछाको सिर्जनात्मक योगदानको मूल्याङ्कन गर्दै प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
स्रष्टाको सम्मानमा प्रतिष्ठानको निरन्तरता
सन् २००८ मा बेलायतमा स्थापना भएको नेपाली प्रतिभा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, गीत–सङ्गीत र कलाका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ। प्रतिष्ठानले विभिन्न विधामा सक्रिय स्रष्टाको सिर्जनात्मक योगदानको कदर गर्दै नेपाली प्रतिभाको पहिचान र प्रोत्साहनमा काम गर्दै आएको छ।
प्रतिष्ठानबाट हालसम्म सम्मानित हुने स्रष्टामा स्वर्गीय ईश्वर मानन्धर, स्वर्गीय अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा. डा. गोविन्दराज भट्टराई, बुद्ध राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ ‘सिक्किम’, भोगीरथी श्रेष्ठ, वेणु आचार्य, दाबा याल्मो ‘दार्जिलिङ’, गोपाल पराजुली, डा.कुण्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक, राजेश्वर थापा र जसराज किरातीलगायत रहेका छन्।
त्यसैगरी, प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदीप पाठीन, प्रदीप मेयाङ्बो, सन्ध्या सुब्बा सिज्जाङ्गो र विजेता चौधरी पुरस्कृत भइसकेका छन्।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरस र महासचिव चोक गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस वर्ष सम्मान तथा पुरस्कारका लागि छनोट भएका दुवै स्रष्टालाई बधाई दिँदै उनीहरूको सिर्जनात्मक योगदानको उच्च मूल्याङ्कन गरिएको छ।





