शिवसताक्षीमा लाइट डिजेल आयलको स्टकमा आगलागी, ट्रकमा पनि क्षति

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेग्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिमा भण्डारण गरिएको लाइट डिजेल आयलमा आगलागी भएको छ। आइतबार साँझ भएको आगलागीबाट एउटा ट्रकमा समेत क्षति पुगेको छ।

प्रारम्भिक जानकारीअनुसार साँझ पौने ७ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो। उक्त स्थानमा सडक कालोपत्रे गर्ने प्रयोजनका लागि करिब नौ हजार पाँच सय लिटर लाइट डिजेल आयल भण्डारण गरिएको थियो।

आगलागीबाट को १ क १८०० नम्बरको ट्रकमा समेत क्षति पुगेको जनाइएको छ। आगलागीबाट आयलको भण्डारणमा भएको क्षति र ट्रकमा पुगेको क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

आगो नियन्त्रणमा लिन दमकल बोलाइएको छ। लाइट डिजेल आयलमा पानी हाल्दा आगो झन् दन्किने भएकाले बालुवा प्रयोग गरेर निभाउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ।

आगलागी नियन्त्रणका लागि प्रयास भइरहेकाले घटनाबाट भएको कुल क्षति तथा आगलागीको वास्तविक कारणबारे थप विवरण प्राप्त हुन बाँकी छ।

Scroll to Top