झापा : आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएसँगै झापाको बिर्तामोड नगरपालिकामा मेयरका आकांक्षी बढ्न थालेका छन्। नगरको नेतृत्व लिन पार्टीभित्र पुराना र नयाँ अनुहारले तयारी थालेका छन्।
बिर्तामोड नगर सभापति दीपक दाहाल र सचिव सृजन अधिकारीले मेयरको उम्मेदवार बन्न पार्टीको छनोट प्रक्रियाअन्तर्गत आवेदन दिइसकेका छन्। उनीहरूसँगै अन्य नेताहरू पनि उम्मेदवारीका लागि आन्तरिक तयारीमा जुटेका छन्।
रास्वपा झापाको अनुशासन आयोगका निवर्तमान प्रमुख अर्जुन उप्रेती, इन्जिनियर प्रभास थापा मगर, राजकुमार घिमिरे ‘राजु’, बलराम कार्की, गोविन्दप्रसाद भट्टराई, कमलमोहन उप्रेती र उत्तम खनाल पनि मेयरका आकांक्षीका रूपमा देखिएका छन्। उनीहरूले आवेदन दिने तयारी गरेको बताइएको छ।
पार्टीको आवेदन प्रक्रिया पूरा हुँदासम्म बिर्तामोडमा मेयरका लागि आकांक्षीको सङ्ख्या १५ जनासम्म पुग्न सक्ने रास्वपाका एक जिल्ला तहका नेताले बताए। यससँगै पार्टीभित्र उम्मेदवार छनोटको प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।
आकांक्षीमध्ये केही पार्टीमा लामो समयदेखि सक्रिय छन् भने केही नयाँ अनुहार हुन्। स्थानीय सरकारको नेतृत्वमा पुग्ने लक्ष्यसहित उनीहरूले पार्टीको उम्मेदवार बन्ने प्रयास थालेका छन्। यद्यपि, आवेदन दिएका वा दिने तयारीमा रहेका सबै आकांक्षीमध्ये कसले टिकट पाउँछन् भन्ने टुङ्गो लागिसकेको छैन।
गत फागुन २१ गतेको निर्वाचनमा रास्वपाले उल्लेख्य सफलता हासिल गर्दै सरकार गठन गरेपछि पार्टीप्रति बढेको राजनीतिक आकर्षण आगामी स्थानीय तहको निर्वाचनमा पनि देखिने आकलन आकांक्षीहरूको छ। यही सम्भावनालाई ध्यानमा राखेर बिर्तामोडमा पनि मेयरको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या बढेको देखिन्छ।
तर, राष्ट्रिय निर्वाचनमा प्राप्त मतलाई स्थानीय तहको निर्वाचनको सम्भावित परिणामसँग सोझै जोडेर हेर्न सहज छैन। स्थानीय निर्वाचनमा पार्टीको प्रभावसँगै उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय मुद्दाप्रतिको बुझाइ, सामाजिक सम्बन्ध र मतदातामाझको स्वीकार्यताले पनि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ।
व्यापारिक गतिविधि, तीव्र सहरीकरण र बढ्दो जनघनत्वका कारण बिर्तामोड नगरपालिकाको नेतृत्वलाई महत्त्वपूर्ण रूपमा हेरिन्छ। नगरको विकास, सडक तथा ढल व्यवस्थापन, बजारको व्यवस्थित सञ्चालन, फोहोर व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह आगामी नेतृत्वका लागि चुनौतीका विषय हुन्।
यस्तो अवस्थामा रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय पार्टीभित्रको छनोट प्रक्रियामा मात्र सीमित रहने छैन। आकांक्षीहरूको राजनीतिक पृष्ठभूमि, नगरवासीसँगको सम्बन्ध र स्थानीय समस्याप्रतिको दृष्टिकोणले पनि उम्मेदवार छनोटमा महत्त्व राख्ने देखिन्छ।
अहिलेका लागि भने बिर्तामोडमा रास्वपाको मेयर उम्मेदवार बन्ने प्रतिस्पर्धा प्रारम्भिक चरणमै छ। आवेदनको अन्तिम सूची र पार्टीको निर्णयपछि मात्रै चुनावी प्रतिस्पर्धामा को अघि सर्छ भन्ने स्पष्ट हुनेछ।





