बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित युवक पक्राउ

झापा : झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–३, मेदिबुङ घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित याकथुम्बा होटलमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय बविस भण्डारी छन्।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णकुमार मण्डलको कमान्डमा खटिएको टोलीले आइतबार राति १०ः३० बजे भण्डारी बसेको कोठामा खानतलासी गर्दा प्लास्टिकसहित पाँच ग्राम ८३० मिलिग्राम र प्लास्टिकबाहेक तीन ग्राम एक मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ।

Scroll to Top