गरामनीमा हुकाहुकी पर्व मनाइने, संस्कृति संरक्षणमा जुटे राजवंशी युवा

झापा: लोप हुँदै गएको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले झापाको बिर्तामोड–८, गरामनीमा हुकाहुकी कार्यक्रम आयोजना गरिने भएको छ। बिर्तामोडका वडा नम्बर ७, ८ र ९ का राजवंशी समुदायको संयुक्त भेलाले आगामी कात्तिक २१ गते हुकाहुकी कार्यक्रम गर्ने निर्णय गरेको हो।

कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न भेलाले विश्वदीप राजवंशीको संयोजकत्वमा राजवंशी युवा समिति गठन गरेको छ। समितिका सदस्यमा सम्पतलाल राजवंशी, रोजिन राजवंशी, ओमप्रकाश राजवंशी, शंकर राजवंशी, ललित राजवंशी, सुनिल राजवंशी, टीका राजवंशी, गीता राजवंशी, प्रेम राजवंशी, सुरेन राजवंशी, भेषराज राजवंशी, दीप राजवंशी र रञ्जित राजवंशी रहेका छन्।

संयोजक विश्वदीप राजवंशीका अनुसार लक्ष्मीपूजाको अघिल्लो दिन दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम आयोजना गरिनेछ। समुदायको मौलिक पहिचानसँग जोडिएको हुकाहुकी पर्वलाई नयाँ पुस्तासम्म पुर्‍याउने र परम्परागत संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको उनले बताए।

राजवंशी समुदायमा हुकाहुकी पर्वको विशेष सांस्कृतिक महत्त्व छ। पूर्वी नेपालका राजवंशी, ताजपुरिया, गन्गाईलगायत समुदायले परम्परागत रूपमा लक्ष्मीपूजाका अवसरमा यो पर्व मनाउँदै आएका छन्। कृषि संस्कृति र धार्मिक आस्थासँग जोडिएको यो पर्वमा सन्ठीको मुठा बनाएर त्यसमा आगो बाल्ने र खेतबारीको वरिपरि घुमाउँदै लक्ष्मीको आह्वान गर्ने प्रचलन छ।

परम्पराअनुसार लक्ष्मीपूजाको साँझ सन्ठीबाट बनाइएको राँको अर्थात् हुकाहुकी बालेर धानखेतको चारैतिर घुम्ने गरिन्छ। यस क्रममा लक्ष्मी माताको आह्वान गर्दै बाली सप्रियोस्, अन्नबालीमा समृद्धि छाओस् र घरपरिवारमा सुखशान्ति कायम होस् भन्ने कामना गरिन्छ। त्यसपछि समुदायका सदस्य सामूहिक रूपमा हुकाहुकी खेल्ने गर्छन्।

तर, पछिल्लो समय बदलिँदो जीवनशैली र नयाँ पुस्ताको व्यस्तताका कारण परम्परागत संस्कार तथा संस्कृति ओझेलमा पर्दै गएका छन्। यस्तो अवस्थामा सामूहिक रूपमा कार्यक्रम आयोजना गर्दा समुदायका सदस्यबीच एकता बढ्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग परिचित गराउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

गरामनीमा आयोजना गर्न लागिएको कार्यक्रमले राजवंशी समुदायको सांस्कृतिक पहिचानलाई सार्वजनिक रूपमा उजागर गर्नुका साथै पुस्तान्तरण हुँदै आएको परम्पराको निरन्तरतामा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Scroll to Top