भुवन कार्कीको जाहेरिका आधारमा २५ लाखको बैंकिङ कसुर मुद्दामा गिरी पक्राउ, मध्यरातमा अस्पताल भर्ना

बिर्तामोड : बैंकिङ कसुरसम्बन्धी मुद्दामा झापाको बिर्तामोडका होटल व्यवसायी गोपीचन्द्र गिरी पक्राउ परेका छन्। २५ लाख रुपैयाँको बैंकिङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी ७२ वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । पक्राउ परेर प्रहरी हिरासतमा रहेका उनी छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गिरीलाई हिजो साँझ बिर्तामोड नगरपालिका–५ स्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी हिरासतमा राखिएको थियो।

तर, हिरासतमा रहेकै अवस्थामा राति छातीमा समस्या देखिएपछि उनलाई अस्पताल लैजानुपरेको थियो। प्राप्त विवरणअनुसार आज बिहानका राति साढे १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि गिरीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको हो। अस्पतालमा शय्यामा भर्ना गरेर उनको उपचार भइरहेको जनाइएको छ।

गिरी होटल व्यवसायमा संलग्न व्यक्ति हुन्। उनी बिर्तामोड नगरपालिकाका पूर्वजनप्रतिनिधिसमेत हुन्। स्थानीय व्यवसायिक तथा सामाजिक क्षेत्रमा परिचित गिरी बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेपछि यो घटना चर्चामा आएको छ।

भुवन कार्कीको जाहेरिका आधारमा २५ लाख रुपैयाँसँग सम्बन्धित बैंकिङ कसुरको मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेका बेला गिरीको स्वास्थ्यमा समस्या देखिएपछि उनको उपचारलाई प्राथमिकता दिइएको छ। उनको स्वास्थ्य अवस्था र अस्पतालबाट डिस्चार्ज हुने समयबारे भने थप विवरण सार्वजनिक भएको छैन।

बैंकिङ कसुरसम्बन्धी मुद्दाको थप कानुनी प्रक्रिया र गिरीको स्वास्थ्य अवस्थाबारे सम्बन्धित प्रहरी कार्यालयबाट थप विवरण आउन बाँकी छ।

Scroll to Top