झापा : झापाको शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा मंसिर ५ देखि १२ गतेसम्म दोस्रो झापा महिला गोल्डकप आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारत र भुटानका क्लबले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक झापा महिला गोल्डकप समितिले आइतबार रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
झापालाई महिला फुटबलको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिन लागिएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले बताए। फुटबल गतिविधिमा अग्रणी जिल्लाका रूपमा परिचित झापामा महिला खेलाडीको विकास र प्रवर्द्धनमा प्रतियोगिताले योगदान पुर्याउने उनको भनाइ छ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता निश्चित भएको छ। भारत र भुटानका एक–एक टोलीसँगै नेपालका ए डिभिजनका दुई क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
विजेता र उपविजेता टोलीले नगद पुरस्कारसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महिला फुटबलको विकाससँगै स्थानीयस्तरमा खेलाडी उत्पादन र तल्लो तहदेखि नै नियमित प्रशिक्षणको वातावरण बनाउने आयोजकको लक्ष्य छ।
त्यसका लागि दुधे रंगशालाको स्तरोन्नति भइरहेको छ। खेलमैदान सुधार र बाँसको अस्थायी प्यारापिट निर्माणको काम कात्तिक तेस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितालाई खेलकुदमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोड्ने तयारी गरिएको छ। टिकट बिक्रीबाट प्राप्त रकममध्ये प्रत्येक टिकटको १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई प्रदान गरिने अध्यक्ष लिम्बूले बताए।
झापाली उद्योगी, व्यवसायी, खेलप्रेमी, पत्रकार र सञ्चारमाध्यमको सहयोगमा प्रतियोगितालाई सफल बनाउने लक्ष्य राखिएको उनले बताए। गोल्डकपलाई सामाजिक अभियानमा समेत सक्रिय संस्थाका रूपमा स्थापित गर्ने योजना रहेको उनको भनाइ छ।
प्रतियोगिताको संरक्षकमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रासहित नगरका जनप्रतिनिधि छन्। प्रतियोगिता सञ्चालनका लागि खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ। आवश्यकताअनुसार अन्य विभागसमेत गठन गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नगरप्रमुख थोप्रा, उपप्रमुख नरमाया कार्की र झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिताको तयारीबारे सुझाव दिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण पत्रकार खरेलले गरेका थिए।






