विनोद सापकोटा
शिवसताक्षी : जन्मदिनमा फोन गरेर शुभकामना दिने वा सामाजिक सञ्जालमार्फत बधाई साटासाट गर्ने चलन सामान्य भइसकेको छ। तर, कुनै पूर्वजानकारीबिना पार्टीका नेता तथा कार्यकर्ता घरमै पुगेर शुभकामना दिँदा जन्मदिन मनाउने व्यक्तिका लागि त्यो क्षण विशेष बन्ने गरेको छ। झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले करिब एक वर्षदेखि यस्तै अभ्यास गर्दै आएका छन्।
शनिबार शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राको जन्मदिनमा पनि यस्तै दृश्य देखियो। दिउँसो २ बजेका लागि समय मिलाइएको थियो। तर, नगर प्रमुख थोप्रालाई आफ्नो निवासमा पार्टीका नेता तथा कार्यकर्ता भेला हुने जानकारी थिएन। नगर अध्यक्ष मेदनी दङ्गालले केहीबेर भेटघाट र कुराकानी गर्नुपर्ने भन्दै उनीसँग समय मागेका थिए।
‘मैले दिउँसो २ बजेतिर घरमै खाली हुन्छु, आउनुस् न भनेको थिएँ। तर, यति धेरै नेता आउनुहुन्छ भन्ने कल्पना गरेको थिइनँ,’ थोप्राले भने, ‘एकाएक नेताहरू आएर खदा लगाइदिँदा म आफैँ आश्चर्यमा परेँ। मलाई मात्र होइन, मेरो परिवारलाई पनि निकै खुसी लाग्यो।’
समय तय भएको आधा घण्टाभित्रै थोप्राको निवासमा करिब १५ जना नेता तथा कार्यकर्ता भेला भए। घरको आँगन मोटरसाइकलले भरियो। एकाएक ठूलो सङ्ख्यामा पार्टीका नेता तथा कार्यकर्ता पुगेपछि स्थानीय बासिन्दासमेत अचम्ममा परे।
जन्मदिनको शुभकामना दिन पुगेका नेताहरूले नगर प्रमुख थोप्रालाई खदा लगाएर बधाई दिए। त्यसपछि केक काटेर सहभागीहरूबीच खुसी साटासाट गरियो। न कुनै औपचारिक कार्यक्रम आयोजना गरियो, न लामो भाषण नै भयो। सामान्य भेटघाट, शुभकामना आदानप्रदान र आत्मीयतासँगै कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल, नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, एमाले शिवसताक्षी नगर अध्यक्ष मेदनी दङ्गाल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष विनोद सापकोटा, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य कमलबहादुर कार्की, एमाले नगर सचिवालय सदस्य खड्गप्रसाद अधिकारी, वडा नम्बर ९ का पार्टी अध्यक्ष लोकनाथ खनाल र अखिल नेपाल महिला सङ्घ शिवसताक्षी नगर अध्यक्ष निर्मला प्रसाईंसहितका नेता तथा कार्यकर्ता सहभागी थिए।
जन्मदिन बहाना, सम्बन्ध जोड्ने प्रयास
शिवसताक्षीमा एमालेका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र नगर तहमा जिम्मेवारीमा रहेका व्यक्तिहरूको जन्मदिनलाई आत्मीय भेटघाटको अवसर बनाउँदै आएका छन्। जन्मदिन परेको व्यक्तिको अनुकूल समय मिलाएर पार्टीका कुनै नेताले सम्पर्क गर्छन्। भेटघाटको समय तय भएपछि अन्य नेता तथा कार्यकर्ता क्रमशः सम्बन्धित व्यक्तिको निवासमा पुग्छन्।

यो पार्टीले औपचारिक निर्णय गरेर सञ्चालन गरेको कार्यक्रम भने होइन। नेता तथा कार्यकर्ताले स्वस्फूर्त रूपमा अघि बढाएको अभ्यास हो। जन्मदिन परेको व्यक्तिलाई शुभकामना दिने, खदा लगाइदिने र केक काटेर खुसी साटासाट गर्ने यसको मुख्य उद्देश्य रहेको सहभागीहरू बताउँछन्।
राजनीतिक दलभित्र विचार, जिम्मेवारी र कार्यशैलीका विषयमा मतभिन्नता हुनु स्वाभाविक हो। कतिपय अवस्थामा यस्ता मतभिन्नताले असमझदारी र तिक्तताको रूपसमेत लिन सक्छन्। यस्तो अवस्थामा औपचारिक बैठक र राजनीतिक छलफलभन्दा बाहिर हुने आत्मीय भेटघाटले संवाद र सहकार्यका लागि सहज वातावरण बनाउन मद्दत गर्न सक्छ।
जन्मदिनका अवसरमा घरमै पुगेर शुभकामना दिने अभ्यासले नेता तथा कार्यकर्ताबीच व्यक्तिगत सम्बन्ध प्रगाढ बनाउने, आपसी चिनजान बढाउने र सङ्गठनभित्र अपनत्वको भावना विकास गर्ने अपेक्षा गरिएको छ। यसले सबै मतभेद अन्त्य गर्छ भन्ने होइन। तर, आपसी सम्बन्ध सुधार्न र मेलमिलापको वातावरण बनाउन भने यस्ता भेटघाट उपयोगी हुन सक्छन्।
पार्टी सङ्गठन बलियो बनाउन बैठक, भेला, प्रशिक्षण र राजनीतिक अभियान आवश्यक हुन्छन्। त्यससँगै नेता तथा कार्यकर्ताका व्यक्तिगत खुसीमा सहभागी हुने संस्कृतिले पनि आपसी सद्भाव र सहकार्यलाई बल पुर्याउन सक्छ। राजनीतिक जिम्मेवारी र औपचारिक भूमिकाभन्दा बाहिर एकअर्काको सुखद क्षणमा सहभागी हुँदा सम्बन्धलाई थप आत्मीय बनाउन सकिन्छ।
शिवसताक्षीमा सुरु भएको यो अभ्यास अन्य पालिकामा समेत अनुकरण गर्न थालिएको जानकारहरू बताउँछन्। औपचारिकता र खर्चभन्दा आत्मीयतालाई प्राथमिकता दिइएको यो शैलीले राजनीतिक सम्बन्धलाई मानवीय पक्षसँग जोड्ने प्रयास गरेको छ।
आत्मीयताले जोड्दै सङ्गठन
राजनीतिक दलमा सङ्गठन विस्तार र कार्यकर्ता परिचालनका लागि विभिन्न गतिविधि सञ्चालन हुने गर्छन्। तर, सङ्गठनभित्रका व्यक्तिबीच व्यक्तिगत सम्बन्ध सुदृढ बनाउने प्रयासले पनि उत्तिकै महत्त्व राख्छ। एउटै पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताबीच नियमित संवाद, आपसी सद्भाव र सहयोगको भावना विकास गर्न यस्ता अनौपचारिक भेटघाटले भूमिका खेल्न सक्छन्।
नगर प्रमुख थोप्राको जन्मदिनमा देखिएको दृश्यले सम्बन्ध बलियो बनाउन सधैँ ठूलो कार्यक्रम आवश्यक नपर्ने सन्देश दिएको छ। कसैको घरमा पुगेर दिइने शुभकामना, खदाको माला र सँगै काटिएको केकले पनि आपसी निकटता बढाउन सक्छ।
शिवसताक्षीमा एमालेका नेता तथा कार्यकर्ताले जन्मदिनलाई बहाना बनाएर अघि बढाएको यो अभ्यास राजनीतिक सम्बन्धलाई औपचारिक जिम्मेवारीबाट बाहिर पनि आत्मीय बनाउने प्रयासका रूपमा देखिएको छ।





