मोरङ कारागार सुधार अभियानमा सक्रिय प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल

विराटनगर : कुनै समय कैदीबन्दीमाथिको आर्थिक शोषण, धम्की, कुटपिट र संगठित आपराधिक गतिविधिका कारण चर्चामा रहने मोरङ कारागारमा अहिले फरक दृश्य देखिन थालेको छ। कारागारभित्रका कैदीबन्दी र बालसुधार गृहका बालबिज्याइँकर्ताहरू बिहान–बेलुका ध्यानमा बस्न थालेका छन्। उनीहरूलाई आत्मचिन्तन, मानसिक शान्ति र सकारात्मक व्यवहार परिवर्तनको अभ्यास गराउन थालिएको छ।

कारागारको दैनिकीमा आएको यो परिवर्तन सामान्य देखिए पनि यसको पृष्ठभूमिमा लामो समयदेखि जरा गाडेको आपराधिक सञ्जाल भत्काउने प्रयास जोडिएको छ। कारागारभित्रको कथित समानान्तर सत्ता अन्त्य गर्ने अभियानपछि कैदीबन्दीलाई अनुशासित जीवन, आत्मबोध र समाजमा पुनःस्थापित हुने बाटोतर्फ प्रेरित गर्ने प्रयास अघि बढाइएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको पहलमा करिब एक महिनादेखि कारागारका पुरुष तथा महिला ब्लक र बालसुधार गृहमा नियमित रूपमा आनापाना ध्यान सञ्चालन भइरहेको छ। विपश्यना ध्यानका साधकहरू कारागारभित्रै बसेर कैदीबन्दीलाई ध्यान सिकाइरहेका छन्। प्रमुख जिल्ला अधिकारी कट्टेलसमेत विभिन्न ब्लकमा पुगेर उनीहरूसँगै ध्यानमा सहभागी हुने गरेका छन्। ध्यानसँगै नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनसम्बन्धी अभ्यास पनि गराइँदै आएको छ।

‘कारागारलाई केवल सजाय भोग्ने ठाउँका रूपमा नभई सुधार र पुनःस्थापनाको स्थान बनाउने हाम्रो प्रयास हो,’ कट्टेल भन्छन्, ‘त्यसैले कैदीबन्दीलाई ध्यान, योग र सकारात्मक व्यवहार परिवर्तनका कार्यक्रमसँग जोडिरहेका छौँ।’

१२ सयभन्दा बढी कैदीबन्दी ध्यानको अभ्यासमा

मोरङ कारागारका विभिन्न ब्लकमा गरी एक हजार दुई सयभन्दा बढी कैदीबन्दी रहेको विवरण प्रशासनले दिएको छ। कारागारको ‘ए’ ब्लकमा ५६७, ‘बी’ ब्लकमा ५३१ र महिला ब्लकमा ११० जना छन्। कारागार परिसरमै रहेको बालसुधार गृहमा ६० जना र कञ्चनबारीस्थित बालसुधार गृहमा दुई सय जना बालबिज्याइँकर्ता छन्।

कारागारका पुरुष तथा महिला ब्लक र बालसुधार गृहमा बिहान र बेलुका सञ्चालन हुने ध्यान कार्यक्रममा सहभागीहरूलाई श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने आनापाना विधि सिकाइँदै आएको छ। यसको उद्देश्य उनीहरूलाई मानसिक रूपमा शान्त रहन, आफ्ना व्यवहार र सोचबारे आत्ममूल्याङ्कन गर्न तथा आवेग नियन्त्रण गर्न प्रेरित गर्नु हो।

ध्यान कार्यक्रम सञ्चालन गर्न विपश्यना ध्यान केन्द्रका साधकहरू खटिएका छन्। उनीहरूले कैदीबन्दी र बालबिज्याइँकर्तालाई नियमित अभ्यास गराउनुका साथै नैतिकता र अनुशासित जीवनको महत्त्वबारे पनि जानकारी दिइरहेका छन्।

प्रशासनको जोड कैदीबन्दीलाई कारागारभित्रको समय कटाउन मात्र नभई रिहा भएपछि समाजमा जिम्मेवार नागरिकका रूपमा फर्किन आवश्यक मानसिक तयारी गराउनुमा छ। बालसुधार गृहका बालबिज्याइँकर्तालाई पनि यही उद्देश्यअनुसार ध्यान र व्यवहार परिवर्तनको अभ्यासमा जोडिएको छ।

आर्थिक शोषणको जालो तोड्ने अभियान

मोरङ कारागारमा ध्यान कार्यक्रम सुरु हुनुको पृष्ठभूमि कारागारभित्र वर्षौंदेखि चलिरहेको भनिएको आर्थिक शोषण र संगठित आपराधिक गतिविधिमाथिको हस्तक्षेपसँग जोडिएको छ।

प्रमुख जिल्ला अधिकारी कट्टेलका अनुसार उनले गत असारदेखि कारागारभित्र कैदीबन्दीमाथि भइरहेको आर्थिक शोषण र कथित आपराधिक सञ्जालबारे अनुसन्धान अघि बढाएका थिए। ‘बी’ ब्लकका ५३६ कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले वितरण गर्नुपर्ने १३ लाख ४० हजार रुपैयाँ गायब बनाइएको सूचना पाएपछि प्रशासनले अनुसन्धान र हस्तक्षेप तीव्र पारेको थियो।

त्यसपछि मोरङ प्रशासनले कारागारका पूर्वचौकीदार तथा गुण्डा नाइकेको रूपमा चिनिएका विराटनगरका अभिषेक गिरीलाई २०८३ असार १३ गते घरबाट पक्राउ गरेको थियो। मानव अपहरणसम्बन्धी कसुरमा आठ वर्षको सजाय भुक्तान गरी २०७८ सालमा रिहा भएका गिरीले जेलबाहिर बसेर कारागारभित्र रहेका आफ्ना सहयोगीमार्फत आर्थिक शोषणलाई निरन्तरता दिएको आरोप लागेको थियो।

गिरी पक्राउ परेपछि उनीसँग सम्बन्धित भनिएका चौकीदार सञ्जय मण्डल, कार्यालय सहयोगी शिवचरण यादव र आपूर्तिकर्ता विजय कामतलगायतलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

प्रशासनको हस्तक्षेपपछि पनि कारागारभित्रको अवस्था तत्काल सामान्य बन्न सकेन। कथित आपराधिक समूहमा आबद्ध कैदीबन्दीले नाराबाजी गर्ने, प्रहरी प्रशासनलाई भित्र प्रवेश गर्न अवरोध गर्ने र कारागारभित्र आगजनी गर्ने गतिविधि गरेको विवरण सार्वजनिक भएको थियो।

त्यसपछि प्रशासनले थप हस्तक्षेप गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ३७ जना कैदीबन्दीलाई पटकपटक विभिन्न कारागारमा स्थानान्तरण गरेको थियो। त्यसपछि गरिएको खानतलासीमा गोप्य स्थानमा लुकाइएका फलामका रड र स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये एक जनाको कोठाबाट १० लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो।

यी घटनाक्रमपछि कारागारको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनको भनाइ छ। कारागारभित्रको अव्यवस्था नियन्त्रणमा आएपछि प्रशासनले कैदीबन्दीको दैनिकीलाई सुधारमुखी बनाउने कार्यक्रम अघि बढाएको हो।

भत्ता र श्रमको पारिश्रमिकमाथि पनि चासो

कारागारभित्रको सुधार अभियान आर्थिक अनियमितता नियन्त्रणमा मात्र सीमित छैन। कैदीबन्दीले पाउनुपर्ने भत्ता र श्रमको पारिश्रमिकमा हुने अनियमितता, कारागारभित्रै चलाइने मिटरब्याजको कारोबार तथा डरधम्कीका आधारमा हुने आर्थिक र शारीरिक शोषण अन्त्य गर्ने विषयलाई पनि प्रशासनले प्राथमिकतामा राखेको छ।

कारागारभित्र प्रभावशाली कैदीबन्दी वा उनीहरूसँग सम्बन्धित समूहले अरूमाथि दबाब सिर्जना गर्ने र आर्थिक लाभ लिने गरेको आरोप लामो समयदेखि उठ्दै आएको थियो। यस्ता गतिविधिले कमजोर अवस्थाका कैदीबन्दीलाई थप असुरक्षित बनाउने जोखिम रहन्छ।

प्रशासनले यस्ता गतिविधिमाथि हस्तक्षेप गर्दै कारागारलाई कानुनअनुसार सञ्चालन हुने संस्थाका रूपमा स्थापित गर्ने प्रयास गरेको जनाएको छ। कारागारभित्रको डर, दबाब र शोषणको वातावरण हटाएर कैदीबन्दीलाई सुधारका अवसर उपलब्ध गराउनु अभियानको अर्को महत्त्वपूर्ण पक्ष बनेको छ।

दसदिने विपश्यना शिविरको तयारी

नियमित ध्यान अभ्यासपछि अब मोरङ कारागारभित्रै दसदिने विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसका लागि कारागार परिसरमा करिब २५ लाख रुपैयाँ खर्चमा छुट्टै संरचना निर्माण भइरहेको छ।

विपश्यना ध्यान केन्द्रले आफ्ना साधकहरूबाट सहयोग सङ्कलन गरेर शिविरका लागि आवश्यक संरचना तयार गरिरहेको छ। चाडपर्व सकिएपछि कात्तिकको अन्तिम सातादेखि शिविर सञ्चालन गर्ने तयारी रहेको ध्यान कार्यक्रममा सहयोग गरिरहेका धर्मसेवक इन्जिनियर समीर तिमल्सिनाले बताए।

उनका अनुसार सुरुमा २४ जनाको समूहमा दसदिने शिविर सञ्चालन गरिनेछ। त्यसपछि पालैपालो अन्य कैदीबन्दी र १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई सहभागी गराउने योजना छ। शिविरमा सहभागी हुनेहरूले दस दिनसम्म विपश्यना ध्यानको निर्धारित विधि र अनुशासन पालना गर्नुपर्नेछ।

कारागारभित्र ध्यान सिकाउन धर्मसेवक मदन कठायत र तिमल्सिनालगायत साधकहरूले सहयोग गरिरहेका छन्। उनीहरूका अनुसार नियमित ध्यानले सहभागीलाई आफ्ना विचार, भावना र व्यवहार नियाल्ने अवसर दिन्छ। यसले आवेग नियन्त्रण, आत्मअनुशासन र सकारात्मक सोच विकासमा सहयोग पुर्‍याउन सक्छ।

विपश्यना शिविरका लागि संरचना निर्माणमा सहयोग गर्न चाहने व्यक्तिहरूले पनि निश्चित प्रक्रिया पालना गर्नुपर्नेछ। साधक पशुपति पोखरेलका अनुसार उक्त संरचना निर्माणका लागि विपश्यना ध्यान शिविरमा सहभागी भइसकेका साधकहरूबाट मात्रै सहयोग लिन सकिने व्यवस्था छ। सहयोग गर्न इच्छुक साधकले प्रशासनसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन्।

सजायसँगै सुधार र पुनःस्थापनाको लक्ष्य

कारागारको मुख्य उद्देश्य कानुनअनुसार सजाय कार्यान्वयन गर्नु भए पनि कैदीबन्दीलाई समाजमा पुनःस्थापित हुन सक्ने वातावरण तयार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। जेलभित्रको आपराधिक सञ्जाल र शोषण नियन्त्रणपछि ध्यान तथा नैतिक शिक्षालाई प्राथमिकता दिन थालिनुले मोरङ कारागारमा सुधारको नयाँ प्रयास सुरु भएको देखाएको छ।

यद्यपि नियमित ध्यान कार्यक्रम सञ्चालन हुँदैमा कैदीबन्दीको सोच र व्यवहारमा तत्काल परिवर्तन आउँछ भन्ने निश्चित हुँदैन। त्यसका लागि निरन्तर अभ्यास, मनोसामाजिक परामर्श, सीप विकास, शिक्षा र रिहाइपछिको पुनःस्थापनासम्म जोडिने कार्यक्रम आवश्यक हुन्छन्।

मोरङ प्रशासनले सुरु गरेको ध्यान अभ्यास र प्रस्तावित दसदिने विपश्यना शिविरले कैदीबन्दीलाई आत्ममूल्याङ्कन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। कारागारभित्रको भय र दबाबबाट बाहिर निस्केर आत्मअनुशासन र सकारात्मक सोचको अभ्यास गर्न पाउनु उनीहरूको जीवनमा परिवर्तनको आधार बन्न सक्छ।

अब यो अभियानको सफलता कारागारभित्र शान्ति कायम राख्न सकिएको अवस्थामा मात्र सीमित रहने छैन। ध्यानमा सहभागी कैदीबन्दीको व्यवहारमा कस्तो परिवर्तन आउँछ र रिहाइपछि उनीहरू समाजमा कसरी पुनःस्थापित हुन्छन् भन्ने कुराले पनि यसको प्रभावकारिता निर्धारण गर्नेछ।

Scroll to Top