झापामा मूर्ति विसर्जनमा डीजे प्रतिबन्ध, व्यवसायीसमेत कारबाहीको दायरामा

झापा : धार्मिक तथा सांस्कृतिक उत्सवका नाममा चर्को आवाजमा डीजे बजाउने र सार्वजनिक शान्ति खलल पार्ने गतिविधि बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, र्‍याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध लगाएको छ।

प्रशासनले जारी गरेको सूचनामा प्रतिबन्धको अवज्ञा गरी डीजे बजाएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे भाडामा उपलब्ध गराउने व्यक्ति, साउन्ड सिस्टम व्यवसायी तथा उपकरण ढुवानी गर्ने सवारीसाधनका धनीलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ। यस व्यवस्थाले धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रण गर्न खोजेको छ।

प्रशासनले मूर्ति विसर्जन तथा शोभायात्रा सञ्चालन गर्दा निर्धारित मार्ग र समयको अनिवार्य पालना गर्न पनि निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धार्मिक कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन तथा जिल्लामा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

सूचनामा कुनै पनि धर्मावलम्बीका आस्थाका केन्द्रलाई लक्षित गरी उत्तेजक गतिविधि नगर्नसमेत सचेत गराइएको छ। मन्दिर, मस्जिद, मदरसा, चर्च र गुम्बालगायत धार्मिक स्थलअगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने, उत्तेजक प्रदर्शन गर्ने तथा रङ, अबिरलगायत सामग्री फ्याँक्ने गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, धार्मिक जुलुस तथा मूर्ति विसर्जनमा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक तथा साम्प्रदायिक सन्देश प्रवाह नगर्न पनि निर्देशन दिइएको छ। यस्ता गतिविधिले धार्मिक तथा सामाजिक सद्भावमा असर पुर्‍याउन सक्ने भएकाले सबै पक्षलाई संयमित हुन प्रशासनले आग्रह गरेको हो।

आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडपर्व तथा धार्मिक–सांस्कृतिक अनुष्ठान मनाउने क्रममा अरू समुदायको आस्थामा चोट पुग्ने गतिविधि नगर्न पनि सूचनामार्फत अपिल गरिएको छ। अन्य धर्मावलम्बीका धार्मिक स्थलअगाडि चर्को आवाजमा डीजे बजाउने, होहल्ला गर्ने तथा उक्साहटपूर्ण गतिविधि गर्ने कार्य निषेध गरिएको प्रशासनले जनाएको छ।

धार्मिक तथा सांस्कृतिक पर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन प्रशासनले सम्बन्धित आयोजक, व्यवसायी र सर्वसाधारणलाई निर्देशन पालना गर्न आग्रह गरेको छ। सूचनाको अवज्ञा भएमा संलग्न पक्षलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Scroll to Top