झापा : मोबाइलमा झुम्मिने युवाले समय खेर फाल्छन् भन्ने आम बुझाइ छ। तर अर्घाखाँचीका नेत्रप्रसाद भुसालले यही मोबाइल र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाएर फरक पहिचान स्थापित गरेका छन्। युट्युब, फेसबुक र टिकटकमा सक्रिय भुसालले सामाजिक सञ्जालबाटै करिब सात करोड रुपैयाँ आम्दानी गरेको दाबी गरेका छन्।
सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका भुसाल अहिले टिकटकमा ‘लाइभ होस्ट’का रूपमा परिचित छन्। उनका अनुसार टिकटकमा करिब २० लाख फलोअर छन्। युट्युबमा लाखौँ सब्सक्राइबर र फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर छन्। ठूलो दर्शक सञ्जाल नै उनको आम्दानी र लोकप्रियताको आधार बनेको छ।
किशोरावस्थामै बुबाको निधन भएपछि परिवारको जिम्मेवारी र आर्थिक समस्याले उनलाई पिरोल्न थाल्यो। पढाइलाई निरन्तरता दिनु, भाइबहिनीको शिक्षाको व्यवस्था गर्नु र परिवारको आर्थिक अवस्था सुधार्नु उनका लागि चुनौती थिए। तर, उनले समस्यालाई अवसरमा बदल्ने प्रयास गरे।
एसइई परीक्षा दिएपछि पाएको करिब तीन महिनाको समय सदुपयोग गर्दै उनले युट्युब च्यानल सुरु गरे। सुरुमा प्रविधिसम्बन्धी सामग्री र ब्लगिङमा केन्द्रित भए। अन्य सामग्री निर्माताबाट प्रभावित भएर सुरु गरेको उनको डिजिटल यात्रा सहज भने थिएन। दर्शकको सङ्ख्या कम थियो र मेहनतअनुसारको प्रतिफल तत्काल मिल्दैनथ्यो। तैपनि उनले निरन्तरता छाडेनन्।
युट्युब च्यानलबाट पहिलोपटक आम्दानी हुँदा आफू निकै खुसी भएको भुसाल सम्झन्छन्। त्यसपछि सामाजिक सञ्जाललाई मनोरञ्जनको साधन मात्र नभई व्यावसायिक सम्भावना भएको क्षेत्रका रूपमा बुझ्न थाले। फेसबुकमा सक्रियता बढाएपछि टिकटकमा पनि आफ्नो उपस्थिति विस्तार गरे।
सन् २०१९ देखि टिकटकमा नियमित लाइभ बस्न थालेका भुसालका लागि अहिले लाइभ स्ट्रिमिङ आम्दानीको प्रमुख स्रोत बनेको छ। लाइभमा जोडिएका दर्शकले पठाउने डिजिटल उपहारबाट मुख्य आम्दानी हुने गरेको उनी बताउँछन्।
उनका अनुसार अहिले मासिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुन्छ। सामाजिक सञ्जालबाट अहिलेसम्म करिब सात करोड रुपैयाँ कमाएको उनको दाबी छ। उनी दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी करिब चार घण्टा टिकटक लाइभमा बिताउँछन्।
‘लाइभमा बसेर दर्शकसँग जोडिन्छु। दर्शकले दिने उपहार नै मेरो मुख्य आम्दानीको स्रोत हो,’ भुसाल भन्छन्, ‘सामाजिक सञ्जाललाई सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।’
कुनै समय परिवारको आर्थिक अवस्था सुधार्ने चिन्तामा रहेका भुसाल अहिले आफ्नै कमाइबाट आर्थिक रूपमा सबल बनेका छन्। सन्धिखर्कमा आकर्षक घर बनाएका उनले सवारीसाधनसमेत किनेका छन्। केही महिनाअघि काठमाडौंको बूढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उनले बताएका छन्।
उनका लागि सामाजिक सञ्जालको उपलब्धि घर, गाडी र पैसामा मात्र सीमित छैन। यसले देश–विदेशका दर्शकमाझ परिचित गराउनुका साथै सम्मान र पहिचानसमेत दिलाएको उनको भनाइ छ। ‘सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,’ उनी भन्छन्, ‘देश तथा विदेशका दर्शकसँग जोडिन पाएको छु। त्यसैले यसलाई निरन्तरता दिनेछु।’
भुसालले सामाजिक सञ्जालबाट कमाएको रकमको केही हिस्सा सामाजिक सेवामा पनि खर्च गर्दै आएका छन्। आर्थिक समस्यामा परेका, बिरामी तथा विपन्न व्यक्तिलाई सहयोग गर्दै आएका उनले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएका छन्। सामाजिक काममा योगदान गर्न पाउँदा थप सन्तुष्टि मिल्ने उनी बताउँछन्।
टिकटक लाइभ होस्टका रूपमा परिचित भुसालले विभिन्न गीतका म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्। युट्युबमा प्रविधिसम्बन्धी सामग्री र ब्लगिङ, फेसबुकमा विविध सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उनले फरक–फरक दर्शकमाझ आफ्नो उपस्थिति बनाएका छन्। यसले उनलाई एउटै प्लेटफर्ममा निर्भर नरही डिजिटल माध्यमका विभिन्न क्षेत्रमा सक्रिय हुन सहयोग गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोगले समय र अवसर खेर जान सक्छ। तर, सीप, सिर्जनशीलता र निरन्तर मेहनतका साथ प्रयोग गर्न सके यही माध्यम आम्दानी र रोजगारीको आधार बन्न सक्ने भुसालको अनुभवले देखाउँछ।
सामाजिक सञ्जाललाई युवाको समय बर्बाद गर्ने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोणबीच भुसालको यात्रा फरक उदाहरण बनेको छ। अर्घाखाँचीको सामान्य परिवारबाट डिजिटल दुनियाँमा स्थापित भएका उनले आफ्नो मेहनत र निरन्तरताबाट दर्शकको ठूलो समूह बनाउन सफल भएका छन्।
उनको यात्राले सामाजिक सञ्जालमा बिताएको समयभन्दा त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको सन्देश दिन्छ। मोबाइलको स्क्रिनबाट सुरु भएको यात्रा आम्दानी, सामाजिक पहिचान र सेवासम्म विस्तार हुनु त्यसैको उदाहरण हो।




