झापामा निजी सुरक्षागार्ड र बाउन्सरलाई कडाइ, हातपात गरे कारबाही

झापा : जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला–महोत्सव तथा व्यावसायिक प्रतिष्ठानमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरलाई नागरिकमाथि हातपात, दुर्व्यवहार तथा अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिएको छ।

दसैँ मेला लगायतका कार्यक्रममा खटिएका बाउन्सर तथा सुरक्षागार्डबाट सर्वसाधारणमाथि हातपात गर्ने, दुर्व्यवहार गर्ने र झैझगडामा संलग्न हुनेजस्ता गतिविधि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले सार्वजनिक आह्वानसहित आचारसंहिता जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी सूचनामा जिल्लाको शान्ति–सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न निजी क्षेत्रका सुरक्षा सेवा प्रदायक कम्पनी तथा तिनका सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख छ। सुरक्षा जिम्मेवारीमा खटिने व्यक्तिले सरोकारवाला सबै पक्षसँग शिष्ट, शान्त, मर्यादित र सौहार्दपूर्ण व्यवहार गर्नुपर्ने प्रशासनले जनाएको छ।

कार्यालयले मेला, महोत्सव, सपिङ सेन्टर, अस्पताल तथा विभिन्न सार्वजनिक र व्यावसायिक स्थलमा सुरक्षा वा भीड नियन्त्रणका नाममा सर्वसाधारणमाथि हातपात गर्ने, धम्क्याउने, बल प्रयोग गर्ने वा झैझगडामा संलग्न हुने कार्य निषेध गरेको छ।

कार्यस्थलमा कुनै व्यक्तिबाट अवाञ्छित गतिविधि, विवाद वा होहल्ला भएमा निजी सुरक्षागार्ड तथा बाउन्सर स्वयं झगडामा सामेल हुन नपाउने सूचनामा उल्लेख छ। त्यस्तो अवस्था आएमा बल प्रयोग नगरी तत्काल कार्यस्थलमा खटिएको प्रहरी वा नजिकको प्रहरी कार्यालयलाई खबर गर्न र विवादमा संलग्न व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन निर्देशन दिइएको छ।

त्यस्तै, निजी सुरक्षा सेवा प्रदायक कम्पनीका सञ्चालक तथा सम्बन्धित मेला र संस्थाका व्यवस्थापकलाई आपराधिक पृष्ठभूमि नभएका र आवश्यक तालिम प्राप्त व्यक्तिलाई मात्र सुरक्षामा खटाउन भनिएको छ। सुरक्षाकर्मीलाई नागरिकसँग शिष्ट र मर्यादित व्यवहार गर्न पूर्वअभिमुखीकरण गराएर मात्र परिचालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय झापाले स्पष्ट पारेको छ।

कार्यालयले कार्यस्थलमा खटिने प्रत्येक सुरक्षागार्ड तथा बाउन्सरले तोकिएको पोसाक लगाउनुपर्ने र सम्बन्धित कम्पनीको आधिकारिक परिचयपत्र स्पष्ट देखिने गरी राख्नुपर्ने निर्देशनसमेत दिएको छ। मेला, महोत्सव तथा ठूला सार्वजनिक कार्यक्रममा निजी सुरक्षाकर्मी परिचालन गर्नुअघि स्थानीय प्रहरी र प्रशासनसँग आवश्यक समन्वय गरी जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय झापाले निर्देशनविपरीत कुनै सुरक्षाकर्मी वा बाउन्सरले सर्वसाधारणमाथि हातपात, कुटपिट, अभद्र व्यवहार वा झैझगडा गरेको पाइएमा संलग्न व्यक्ति मात्र नभई उसलाई परिचालन गर्ने निजी सुरक्षा कम्पनीका सञ्चालक तथा कार्यक्रम आयोजकलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

सूचनामार्फत निजी सुरक्षा सेवा लिइरहेका सबै संस्था, प्रतिष्ठान, अस्पताल, व्यावसायिक केन्द्र तथा मेला–महोत्सव आयोजकलाई समेत निर्देशनअनुसार आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

चाडपर्वका बेला सार्वजनिक स्थलमा हुने भीडभाड र कार्यक्रमलाई व्यवस्थित बनाउँदै नागरिकको मानमर्यादाको रक्षा गर्न निजी सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी र अधिकारको सीमाभित्र रहेर काम गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

Scroll to Top