दसैँमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

सविना अछामे

खोटाङ : दसैँमा माइती जाने चेलीलाई लक्षित गर्दै खोटाङमा ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियान सुरु गरिएको छ। आर्थिक अभाव तथा यातायातको असहजताका कारण घरदेखि माइतीसम्म पुग्न समस्या भोगिरहेका चेलीलाई लक्षित गरी निःशुल्क बाइक सेवा सञ्चालन गरिएको हो।

मङ्गलबारदेखि सुरु भएको अभियानअन्तर्गत चेलीहरूलाई घरबाट माइतीसम्म र माइतीबाट घरसम्म निःशुल्क रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ। दसैँको समयमा माइती जाने र फर्किने चेलीलाई सहज यात्रा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानका सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिए।

अभियानको पहिलो दिनमै ५० जनाभन्दा बढीले निःशुल्क बाइक सेवाबाट लाभ लिएका छन्। सेवा पाएपछि चेलीहरूले खुसी व्यक्त गरेका छन्। चाडपर्वका बेला माइती पुग्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र यातायातको समस्याले अप्ठ्यारोमा परेका महिलाका लागि अभियान सहयोगी बनेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी रनमायाँ तामाङले माइती भोजपुरसम्म निःशुल्क यात्रा गर्न पाउँदा खुसी लागेको बताइन्। त्यस्तै, रावाबेसी गाउँपालिका–२ खार्पा रुभुङकी रेस्मा राईले पनि निःशुल्क रूपमा माइतीसम्म पुग्न पाउँदा खुसी लागेको सुनाइन्।

चेलीहरूलाई माइतीसम्म पुग्न सहयोग गर्न पाउँदा आफूहरूलाई पनि आनन्द लागेको राइडर भविन्द्र राईले बताए। अभियानमा स्वःस्फूर्त रूपमा ३५ जना राइडर सहभागी भएका छन्। उनीहरूले चेलीहरूलाई गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी लिएका छन्।

अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँको अवसरमा कात्तिक ६ गतेसम्म निःशुल्क बाइक सेवा सञ्चालन हुनेछ। तिहारको अवसरमा पनि कात्तिक २४, २५ र २६ गते अभियानलाई निरन्तरता दिइने उनले बताए।

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियान दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ। अभियानमार्फत अघिल्लो वर्ष पाँच सय र गत वर्ष सात सय ५० जना चेलीले घरदेखि माइतीसम्म र माइतीदेखि घरसम्म निःशुल्क यात्रा सेवा पाएका थिए।

चाडपर्वमा माइती जाने परम्परा र पारिवारिक भेटघाटको महत्वलाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले आर्थिक रूपमा कमजोर चेलीलाई राहत पुर्‍याउनुका साथै सामाजिक सद्भाव र आपसी सहयोगको भावना बढाउन योगदान दिँदै आएको छ। चेलीहरूलाई चाडपर्वमा सहज रूपमा घर–माइती आउजाउ गर्ने वातावरण बनाउन समुदायका युवाले थालेको यो पहलले सामाजिक उत्तरदायित्वको उदाहरणसमेत प्रस्तुत गरेको छ।

Scroll to Top