झापा : झापाको अर्जुनधारामा सात वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका चालक मोरङको बेलबारीबाट पक्राउ परेका छन्।
अर्जुनधारा नगरपालिका–८ का २० वर्षीय अर्पण घिमिरे ‘आनन्द’ लाई प्रहरीले पक्राउ गरेको हो। उनलाई दुर्घटनापछि फरार भएको अवस्थामा खोजतलास गर्ने क्रममा मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकनजिकै सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट स्थानीय जीवन दनुवारकी सात वर्षीया छोरी जलशा दनुवारको मृत्यु भएको थियो।
प्रहरीका अनुसार दिउँसो करिब ३ः४५ बजे घरअगाडि हिँडिरहेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको अनुहार, खुट्टा र पेटमा चोट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो। चिकित्सकले दिउँसो ४ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनालगत्तै प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। सुरुमा मोटरसाइकल र चालकको पहिचान खुल्न नसकेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
खोजतलासका क्रममा प्रदेश १–०२–०२० प ६७६ नम्बरको मोटरसाइकल र चालकको पहिचान खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक अर्जुनधारा–८ टुथबारीका अर्पण घिमिरे रहेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो।
बालिकालाई ठक्कर दिएपछि चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले उनलाई मोरङको बेलबारीबाट पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मोटरसाइकल चालक विरुद्ध सवारी ज्यानमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको ।





