एउटै परिवारका तीन दाजुभाइ, तीन सुरक्षा निकायका उच्च अधिकारी

झापा : एउटै परिवारका तीन दाजुभाइ फरक–फरक सुरक्षा निकायमा उच्च ओहोदामा पुग्नु आफैँमा दुर्लभ संयोग हो। ललितपुरको लेलेस्थित घिमिरे परिवारका तीन दाजुभाइले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा रहेर राष्ट्रसेवाको जिम्मेवारी सम्हालिरहेका छन्। पुस्तौँदेखि सुरक्षा सेवासँग जोडिएको यो परिवारका लागि देश सेवा केवल पेसा मात्र नभई पारिवारिक विरासत पनि बनेको छ।

घिमिरे परिवारका जेठा छोरा दिलिप घिमिरे नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन्। माहिला छोरा पवन घिमिरे नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेलका रूपमा कार्यरत छन् भने कान्छा छोरा विकास घिमिरे सशस्त्र प्रहरी बलका एसएसपी हुन्। तीनै भाइ फरक सुरक्षा निकायमा रहेर शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमा संलग्न छन्।

सुरक्षा सेवामा एउटै परिवारका सदस्यको उपस्थिति नौलो होइन। तर, तीन दाजुभाइ तीनवटै प्रमुख सुरक्षा निकायमा उच्च पदमा पुग्नुले घिमिरे परिवारलाई फरक पहिचान दिएको छ। उनीहरूको पेसागत यात्राले पारिवारिक संस्कार, अनुशासन र राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई एउटै सूत्रमा जोडेको देखिन्छ।

हजुरबादेखि नातिसम्म सुरक्षा सेवाको विरासत

घिमिरे परिवारको सुरक्षा सेवासँगको सम्बन्ध अहिलेको पुस्ताबाट सुरु भएको होइन। परिवारका हजुरबा जितबहादुर घिमिरे प्रथम विश्वयुद्धका क्रममा नेपाली सेनामा क्याप्टेन थिए। ब्रिटिस–भारत सैन्य सहकार्यअन्तर्गत बर्मामा खटिएको नेपाली फौजको नेतृत्वसमेत उनले गरेका थिए।

हजुरबाले सैन्य सेवामा स्थापित गरेको पहिचानलाई पछिल्लो पुस्ताले पनि निरन्तरता दिएको छ। फरक यति हो, अघिल्लो पुस्ताको सैन्य विरासतलाई अहिलेका तीन भाइले नेपालका तीन अलग सुरक्षा निकायमा रहेर अघि बढाएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र र जिम्मेवारी फरक छन्। सेनाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको जिम्मेवारी सम्हाल्छ। नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा कानुन कार्यान्वयन गर्ने काम गर्छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनलगायतका काममा परिचालित हुन्छ। घिमिरे परिवारका तीन भाइले आ–आफ्नो निकायमा रहेर यिनै जिम्मेवारी निर्वाह गरिरहेका छन्।

परिवारका अन्य सदस्य पनि सुरक्षा सेवामै

घिमिरे परिवारको सुरक्षा सेवासँगको आबद्धता तीन दाजुभाइमा मात्रै सीमित छैन। जेठा छोरा दिलिपकी पत्नी वसुन्धरा खड्का नेपाल प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) हुन्। उनी हाल जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखका रूपमा कार्यरत छिन्।

त्यस्तै, कान्छा छोरा विकासकी पत्नी डा. समृद्धि बस्नेत सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा चिकित्सकका रूपमा कार्यरत छिन्। यसरी परिवारका सदस्यहरूको पेसागत जीवनसमेत सुरक्षा सेवा र त्यससँग सम्बन्धित क्षेत्रमा जोडिएको छ।

एउटै परिवारका सदस्यले फरक–फरक जिम्मेवारीमा रहेर राष्ट्रसेवा गर्नु घिमिरे परिवारको विशेषता बनेको छ। परिवारभित्रको यो संलग्नताले सुरक्षा सेवाप्रतिको आकर्षण र समर्पणलाई पुस्तान्तरण गरेको देखिन्छ।

एकै वर्ष दुई भाइले पाए उत्कृष्टताको सम्मान

घिमिरे परिवारको चर्चा हुनुको अर्को कारण दुई दाजुभाइले एउटै वर्ष पाएको उत्कृष्ट कार्यसम्पादनसम्बन्धी सम्मान हो।

वि.सं. २०७९ असोजमा जिल्ला प्रहरी कार्यालय इलामको कमाण्ड सम्हालिरहेका दिलिप घिमिरे प्रहरी दिवसका अवसरमा उत्कृष्ट घोषित भएका थिए। सोही वर्ष सशस्त्र प्रहरी बलको दक्षिणकाली गणमा कार्यरत विकास घिमिरेले पनि वार्षिक निरीक्षणका क्रममा उत्कृष्टताको सम्मान पाएका थिए।

दुई फरक सुरक्षा निकायमा कार्यरत दाजुभाइले एउटै वर्ष प्राप्त गरेको यो सम्मान परिवारका लागि खुसीको विषय बन्यो। जिम्मेवारी निर्वाहका क्रममा देखाएको कार्यसम्पादनको कदर हुनु उनीहरूको पेसागत यात्राको महत्त्वपूर्ण उपलब्धि हो।

हाल दिलिप घिमिरे जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वमा छन्। विकास घिमिरे कुरिनटारस्थित सशस्त्र प्रहरी विपद् तालिम निर्देशनालयका प्रमुखका रूपमा कार्यरत छन्। माहिला भाइ पवन घिमिरे भने नेपाली सेनामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।

देशसेवामा गर्व, परिवारसँग भेट्न समयको अभाव

राष्ट्रसेवामा समर्पित हुन पाउनुलाई घिमिरे परिवारले गर्वको विषय मानेको छ। तर, फरक सुरक्षा निकाय, फरक कार्यक्षेत्र र जिम्मेवारीको व्यस्तताले परिवारका सदस्यलाई एकै ठाउँमा भेला हुन सहज छैन।

सुरक्षा निकायमा कार्यरत अधिकारीको दैनिकी नियमित कार्यालय समय र व्यक्तिगत सुविधामा मात्रै सीमित हुँदैन। जिम्मेवारीअनुसार जुनसुकै बेला परिचालित हुनुपर्ने अवस्था रहन्छ। यही कारण चाडपर्व र पारिवारिक जमघटका अवसरमा समेत सबै सदस्य एकै ठाउँमा जुट्न कठिन हुने गरेको छ।

एसएसपी दिलिप घिमिरे परिवारका सबै सदस्य देश र जनताको सेवामा समर्पित हुन पाउनुलाई विशेष उपलब्धि मान्छन्। तर, जिम्मेवारी र कार्यक्षेत्र फरक हुँदा परिवारसँग पर्याप्त समय बिताउन नपाउँदा खल्लो लाग्ने उनको अनुभव छ।

“हाम्रो परिवार नै देश र जनतामा समर्पित छ, यो सबै परिवारमा हुँदैन,” दिलिप भन्छन्, “तर फरक पृष्ठभूमि र जिम्मेवारीका कारण परिवारसँग विरलै भेट हुँदा अलि नरमाइलो लाग्छ।”

कान्छा भाइ विकास घिमिरेको अनुभव पनि उस्तै छ। सुरक्षा सेवाको व्यस्तताले कहिलेकाहीँ आफ्नै पत्नीसँग समेत लामो समय भेट हुन नसक्ने उनी बताउँछन्। उनका अनुसार, पत्नी समृद्धिसँग कहिलेकाहीँ छ महिनासम्म भेट नहुने अवस्था आउँछ।

पेसागत जिम्मेवारीले परिवारसँगको दूरी बढाउँदा व्यक्तिगत जीवनमा त्यसको प्रभाव पर्ने उनको भनाइ छ। परिवारका सदस्य उच्च ओहोदामा पुगेर उपलब्धि हासिल गर्दा त्यसको खुसी साट्न आमाबुबा साथमा नहुनु पनि उनीहरूका लागि भावुक क्षण बन्ने गरेको छ।

“अहिले हामी उपल्लो तहमा पुगेर सम्मानित हुँदा खुसी साट्न आमाबुबा हुनुहुन्न। उहाँहरूलाई सम्झेर चाडबाडका वेला कहिलेकाहीँ नरमाइलो लाग्छ,” विकास भन्छन्।

विरासतसँगै जिम्मेवारीको निरन्तरता

घिमिरे परिवारको कथा तीन दाजुभाइ उच्च पदमा पुगेको विवरणमा मात्रै सीमित छैन। प्रथम विश्वयुद्धका क्रममा सैन्य नेतृत्व गरेका हजुरबादेखि अहिलेका पुस्तासम्म फैलिएको सुरक्षा सेवाको सम्बन्धले यस परिवारको यात्रालाई विशिष्ट बनाएको छ।

एउटै परिवारका सदस्यले तीनवटा सुरक्षा निकायमा रहेर फरक–फरक जिम्मेवारी सम्हाल्नुले राष्ट्रसेवाका विविध आयामलाई एउटै पारिवारिक कथामा समेटेको छ। एकातिर पेसागत उपलब्धि र सम्मानको खुसी छ, अर्कातिर जिम्मेवारीका कारण परिवारसँग टाढा रहनुपर्ने बाध्यता पनि छ।

देशको सुरक्षा र नागरिकको सेवामा समर्पित घिमिरे परिवारका तीन दाजुभाइको यात्रा पारिवारिक विरासतलाई निरन्तरता दिने उदाहरण बनेको छ। उनीहरूको अनुभवले राष्ट्रसेवामा प्राप्त हुने सम्मानसँगै त्यसका लागि गर्नुपर्ने व्यक्तिगत त्याग र पारिवारिक समर्पणलाई पनि उजागर गर्छ।

Scroll to Top