भगवती आधारभूत विद्यालयमा पूर्वविद्यार्थी समाज गठन, अध्यक्षमा चाँद मोहम्मद

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ स्थित भगवती आधारभूत विद्यालयमा पूर्वविद्यार्थी पुनर्मिलन, दाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने दातालाई सम्मान गर्नुका साथै चाँद मोहम्मदको अध्यक्षतामा पूर्वविद्यार्थी समाज गठन गरिएको छ।

विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्ध सुदृढ बनाउने, विद्यालयको विकासमा समुदायको सहभागिता बढाउने तथा शैक्षिक सुधारका लागि सामूहिक पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष खड्गसिंह राजवंशी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू दुर्गा मिश्र, माधवप्रसाद फुयाल र देवानन्द राजवंशी तथा पूर्वप्रधानाध्यापकहरू जुरनप्रसाद राजवंशी, गणेशप्रसाद गिरी, रामसिंह राजवंशी र महेशकुमार बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी वडा सदस्यहरू इसाक आलम मियाँ, रञ्जना भट्टराई र युवराज दाहाललगायत विद्यालयसँग आबद्ध व्यक्तित्व, पूर्वविद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

स्मार्ट विद्यालय निर्माण अभियानका दाता सम्मानित

विद्यालयलाई प्रविधिमैत्री, आधुनिक र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको स्मार्ट विद्यालय निर्माण महाअभियानमा योगदान पुर्‍याउने दाताहरूलाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि कार्कीले दाताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानित हुनेहरूमा चाँद मोहम्मद, थिरकुमार दाहाल, मित्र बराल, निर्मला खनाल अधिकारी, लक्ष्मी पाठक, नारायण पाठक, प्रकाश राजवंशी, रोहित महरा, सुशील कडरिया, राजन कार्की, बानालाल राजवंशी, अमित अग्रवाल, शुभम भगत, भेषराज बुढाथोकी, द्रौपदी बुढाथोकी र ओमप्रकाश बुढाथोकी रहेका छन्।

कार्यक्रममा विद्यालयको विकासमा दाताहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालय र समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

शैक्षिक गुणस्तर सुधारमा सहकार्यको जोड

कार्यक्रममा विद्यालयका कोअर्डिनेटर महेशकुमार बिष्टले स्वागत मन्तव्य राखेका थिए। प्रधानाध्यापक उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षाको विस्तारका लागि विद्यालय, समुदाय, पूर्वविद्यार्थी तथा दाताबीच सहकार्य आवश्यक रहेको बताए।

शुभकामना मन्तव्यका क्रममा पूर्वप्रधानाध्यापक गणेशप्रसाद गिरी, विद्यालयका संस्थापक अध्यक्ष खड्गसिंह राजवंशी तथा पूर्वविद्यार्थी एवं वडा सदस्य युवराज ढकालले विद्यालयको विकास र संस्थागत निरन्तरतामा पूर्वविद्यार्थीको भूमिकाबारे धारणा राखेका थिए। प्रमुख अतिथि वडाध्यक्ष कार्कीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

दाताहरूका तर्फबाट चाँद मोहम्मदले विद्यालयको विकासका लागि सहयोग, सद्भाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

चाँद मोहम्मदको अध्यक्षतामा पूर्वविद्यार्थी समाज

कार्यक्रमको महत्त्वपूर्ण उपलब्धिका रूपमा भगवती आधारभूत विद्यालय पूर्वविद्यार्थी समाज गठन गरिएको छ। विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीलाई संगठित गरी शैक्षिक सुधार, संस्थागत विकास र सामाजिक सहकार्यमा सक्रिय बनाउने उद्देश्यले समाज गठन गरिएको हो।

गठित समाजको अध्यक्षमा चाँद मोहम्मद, उपाध्यक्षमा निर्मला अधिकारी खनाल, सचिवमा युवराज ढकाल, सहसचिवमा मेनुका बिष्ट र कोषाध्यक्षमा मोहनप्रसाद कार्की चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा पदम गिरी, रुपक भट्टराई, चम्पावती राजवंशी, दिनेश कार्की, आकाश क्षेत्री, रेनु अधिकारी, चन्द्रा कँडेल बराल र देवानन्द राजवंशी रहेका छन्।

पूर्वविद्यार्थी समाजलाई मार्गदर्शन तथा आवश्यक सल्लाह प्रदान गर्न प्रेमबहादुर घिमिरेको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिका सदस्यहरूमा थिरकुमार दाहाल, बलराम खड्का, खड्गसिंह राजवंशी, अमृतबहादुर बुढाथोकी, बानालाल राजवंशी र महेशकुमार बिष्ट रहेका छन्।

नवनिर्वाचित अध्यक्ष मोहम्मदले विद्यालयको विकासका लागि पूर्वविद्यार्थीलाई एकताबद्ध गर्दै समाजलाई सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पुनर्मिलनले पुराना सम्बन्ध नवीकरण

कार्यक्रमको अन्तिम चरणमा पूर्वविद्यार्थीबीच परिचय तथा अनुभव आदानप्रदान गरिएको थियो। विद्यालयमा अध्ययन गर्दाका स्मृति साटासाट गर्दै पुराना सम्बन्ध नवीकरण गर्ने र आगामी दिनमा विद्यालयको उन्नतिका लागि सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक गजाधर ढकाल (सविन) ले सञ्चालन गरेको कार्यक्रम प्रधानाध्यापक उप्रेतीले समापन गरेका थिए।

पूर्वविद्यार्थी समाज गठन, दाता सम्मान र समुदायको सहभागितालाई विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि महत्त्वपूर्ण आधारका रूपमा लिएको छ।

Scroll to Top