धुलाबारी माविको पूर्वविद्यार्थी समाजको अध्यक्षमा हरि कोइराला

झापा : धुलाबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको तेस्रो अधिवेशनले हरि कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्वविद्यार्थी समाज चयन गरेको छ ।

पूर्वविद्यार्थीहरूको पुनर्मिलन, शुभकामना आदानप्रदान, सम्मान तथा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । आगामी दुई वर्षे कार्यकालका लागि चयन भएको समितिको उपाध्यक्षमा लीलाप्रसाद भण्डारी, माया न्यौपाने, भूपेन्द्र कडरिया, सन्तोष प्रसाईं र सन्तोष धमला चयन भएका छन् ।

त्यस्तै, महासचिवमा सागर खनाल, सचिवमा यमनाथ (युवराज) रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल चयन भएका छन् । सदस्यहरूमा योगेन्द्र आचार्य, विशान्त कटुवाल, नारायण खनाल, सुभाष रिजाल र किरण श्रेष्ठ रहेका छन् ।

निर्वाचन सहजीकरण समितिका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंका अनुसार अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनका अवसरमा विभिन्न विधामा विद्यावारिधि हासिल गर्न सफल पूर्वविद्यार्थीहरू संगीतकार टीका भण्डारी, शमशेर श्रेष्ठ, हरि कट्टेल र जीवन पौडेललाई सम्मान गरिएको थियो ।

विद्यालयका विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले पूर्वविद्यार्थी मदन प्रसाईंले एक लाख ५१ हजार रुपैयाँको ‘भानु–उषा स्मृति अक्षयकोष’ स्थापना गर्ने घोषणा गरेका छन् । अक्षयकोषबाट प्राप्त हुने रकम विद्यार्थीको शैक्षिक सहयोगमा उपयोग गर्ने उद्देश्य राखिएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । पूर्वविद्यार्थी समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Scroll to Top