झापा : चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ।
चाडपर्वका बेला बजारमा सर्वसाधारणको चहलपहल र आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी, लुटपाट तथा अन्य सुरक्षा जोखिम न्यूनीकरण गर्न प्रशासनले यस्तो निर्देशन दिएको हो। प्रशासनले सेवा प्रवाहलाई सहज, सुरक्षित र भरपर्दो बनाउनसमेत सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामार्फत जिल्लास्थित बैंक तथा वित्तीय संस्था, एटीएम बुथ, व्यापारिक प्रतिष्ठान र सपिङ मल तथा व्यावसायिक कम्प्लेक्सलाई आन्तरिक सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भनिएको छ।
प्रशासनले सुरक्षा गार्डलाई उच्च सतर्कतामा राख्दै चौबीसै घण्टा पालोपहरा र निगरानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाका कार्यालय, भल्ट कक्ष, एटीएम बुथ, व्यापारिक प्रतिष्ठानका प्रवेशद्वार, पार्किङ क्षेत्र र भीडभाड हुने स्थानमा जडान गरिएका सीसीटीभी क्यामेरा निरन्तर सञ्चालन तथा रेकर्डिङ हुने अवस्थामा राख्नुपर्ने सूचनामा उल्लेख छ। क्यामेरामा प्राविधिक समस्या देखिए तत्काल मर्मत गर्न पनि प्रशासनले भनेको छ।
चाडपर्वको बिदामा सर्वसाधारणलाई नगद कारोबारमा असुविधा हुन नदिन बैंक तथा वित्तीय संस्थाले एटीएम बुथमा पर्याप्त नगदको व्यवस्था गर्नुपर्नेछ। एटीएम मेसिन चौबीसै घण्टा सञ्चालन हुने सुनिश्चित गर्नसमेत प्रशासनले निर्देशन दिएको छ।
त्यस्तै, बैंक, वित्तीय संस्था तथा व्यापारिक प्रतिष्ठानमा शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ। आकस्मिक सुरक्षा सहयोग आवश्यक पर्ने अवस्था र बिदाका समयमा एटीएममा प्राविधिक समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेर निजको नाम र सम्पर्क नम्बर नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्नेछ।
सपिङ मल तथा ठूला व्यावसायिक कम्प्लेक्समा चाडपर्वका बेला हुन सक्ने भीडभाड व्यवस्थापन, पार्किङ तथा प्रवेशद्वारमा आवश्यक सुरक्षा जाँच र आकस्मिक सुरक्षा सतर्कताको प्रबन्ध मिलाउन पनि प्रशासनले निर्देशन दिएको छ।
चाडपर्वका बेला सर्वसाधारणको सुरक्षा, सम्पत्तिको संरक्षण र सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले जारी गरिएको निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सबै संस्थालाई प्रशासनले आग्रह गरेको छ।






