‘ढोरपाटन’ पुष २७ देखि हलमा

काठमाडौँ — राजन कठेत र सुनिर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ पुष २७ देखि नेपाल प्रदर्शनमा आउने भएको छ । नेपालमा डकुमेन्ट्री हेर्ने दर्शक बढाउन र त्यस किसिमको माहोल बनाउन सुन्धाराको सिटिसी मलमा अवस्थित सिडिसी सिनेमाजमा एक हप्ता डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी रहेको निर्देशक पाण्डेले जनाए ।

‘हामीकहाँ डकुमेन्ट्री देखाउन फिल्म महोत्सवबाहेक खासै कुनै प्लेटफर्म छैन । बजार पनि छैन । त्यसैले हामीले जोखिम मोलेर एक हप्ताका लागि डकुमेन्ट्री प्रदर्शन गर्ने निर्णय गरेका हौं,’ पाण्डेले भने, ‘अब डकुमेन्ट्री हेर्न दर्शक कति आउँछन् भन्ने हाम्रो चुनौती हो ।’

‘सेफिल्ड डकफेस्ट’मा वर्ल्ड प्रिमियर भएको ७९ मिनेट लामो यो डकुमेन्ट्रीले अल्टरनेटिभा अवार्ड र डोकुबाकु अवार्ड जितेको थियो । डकुमेन्ट्रीले हालै मानव अधिकार फिल्म फेस्टिभलमा समेत उत्कृष्ट फिचर-डकुमेन्ट्रीको अवार्ड जितेको थियो । यो वर्ष विभिन्न अन्तर्राष्ट्रिय बजार घुमेको यो डकुमेन्ट्री अब भने नेपाली दर्शकले हेर्न पाउने भएका छन् ।

डकुमेन्ट्रीमा ढोरपाटनको चिसो छेक्न गाउँलेहरु सबै तल झर्दा गाउँको रेखदेख/चौकिदारी गर्न बसेकी दुई वृद्धाको जीवन समेटिएको छ । उनी दुई एकै पतिका श्रीमती हुन्, अर्थात एकअर्काका सौता हुन् । हिँउले ढपक्कै ढाकिँदा गाउँको चौकिदारी उनी दुईले कसरी गर्लान् त ? त्यसका लागि अंग्रेजी नाम ‘नो विन्टर होलिडेज’ दिइएको ‘ढोरपाटन’ हेर्नुस् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top