झापा : झापाको भद्रपुरस्थित सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।
भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमा प्रदीप सरावगीले सञ्चालन गरेको फ्याक्ट्रीमा शनिबार राति १२ः२० बजे अचानक आगलागी भएको हो।
आगलागीबारे स्थानीयले सीमा सुरक्षा गुल्म मुख्यालय भद्रपुरमा जानकारी गराएपछि सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमान्डमा १० जना र वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जीव चौधरीको कमान्डमा पाँच जना प्रहरी परिचालन भएका थिए।
भद्रपुर नगरपालिकाको दमकल, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाउन स्थानीय ५० देखि ६० जनासमेत खटिएका थिए।
आगलागीबाट भएको क्षतिको आधिकारिक विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। तर, फ्याक्ट्री सञ्चालक सरावगीले आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको बताएका छन्। आगलागीको कारणबारे थप विवरण आउन बाँकी छ।






