मेची–महाकाली जोड्दै मुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि

काठमाडौँ : वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यही कात्तिक ८ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ सञ्चालन हुने भएको छ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सन्देशसहित अघि बढ्ने यात्राले विभिन्न क्षेत्रका नेपालीलाई एउटै सूत्रमा बाँध्ने अपेक्षा गरिएको छ।

मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमा देशविदेशसम्म पुर्‍याउन सहयोग गर्नेछ। यसबाट धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा योगदान पुग्ने उहाँको भनाइ छ।

सार्वजनिक कार्यतालिकाअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम, गलेश्वर हुँदै बेनी र कुन्डुलेफेदी पुगेर पहिलो दिनको विश्राम गर्नेछ। त्यसपछि बागलुङ, कुश्मा र हेमजाको मार्ग हुँदै पोखरा प्रवेश गर्नेछ। कात्तिक १० गते पोखराबाट दमौली, मुग्लिन, धादिङ र थानकोट हुँदै काठमाडौँ पुग्ने कार्यक्रम छ।

कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी भक्तपुरमा विश्राम गर्ने रथयात्रा त्यसपछि सिन्धुली हुँदै उदयपुरको गाईघाट र बराहक्षेत्र भएर चतराधाम पुग्नेछ। कात्तिक १४ गते धरान, इटहरी, विराटचोक, बेलबारी, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा रथयात्रा पुग्नेछ।

कात्तिक १५ गते झापाका विभिन्न स्थानको परिक्रमा गर्दै बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काँकडभिट्टासम्म पुगेर माईधारस्थित श्रीयोगीराज कमलनयनाचार्य आश्रममा रात्रि विश्राम गर्ने कार्यक्रम छ। कात्तिक १६ गते माईधारबाट विराटनगर पुग्ने रथयात्राले त्यसपछि मधेस प्रदेशका विभिन्न स्थान हुँदै जनकपुरधामको यात्रा गर्नेछ।

जनकपुरधामबाट सिमरा र हेटौँडा हुँदै रथयात्रा चितवन, नवलपरासी, बुटवल र भैरहवा पुग्नेछ। त्यसपछि कपिलवस्तु, बाँके, बर्दिया र कैलालीका विभिन्न स्थान हुँदै सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनी प्रदेशका धार्मिकस्थल समेटेर यात्रा अघि बढ्नेछ।

कात्तिक २६ गते महेन्द्रनगरबाट अत्तरिया हुँदै धनगढी पुग्ने रथयात्रा त्यसपछि गुलरिया, कोहलपुर, सुर्खेत र तुलसीपुर हुँदै घोराही तथा भैरहवा पुग्नेछ। रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिनेछ।

रथयात्रा समापनपछि त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मङ्सिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना हुने कार्यक्रम छ।

मेचीदेखि महाकालीसम्मका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई जोड्ने यस अभियानले धार्मिक पर्यटनको विकास, तीर्थस्थलको प्रचारप्रसार र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Scroll to Top