झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट घाइते भएका अर्का वृद्धको पनि मृत्यु भएको छ । उपचारका क्रममा ७३ वर्षीय झप्टु राजवंशीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

बाह्रदशी गाउँपालिका–२ चैतन्यबारी निवासी राजवंशीको आज बिहान १० बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका ज्वाइँ शंकरदेव राजवंशीले जानकारी दिए ।

राजवंशी बिहान मर्निङवाकमा निस्किएका बेला वडा नं. २ मा बिहान करिब ५ बजे बाह्रदशी जंगलबाट आएका दुईवटा जंगली हात्तीले आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट उनको खुट्टा र करङमा चोट लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

सोही हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको पनि मृत्यु भएको थियो । बिहान करिब ५ः४० बजे मर्निङवाकमा निस्किएकी खातुनलाई राजगढ–घेराबारी सडकखण्डमा जनता चोकको दक्षिणतर्फ हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट घाइते खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

बिहानै मर्निङवाकमा निस्किएका दुई स्थानीय बासिन्दाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि बाह्रदशी क्षेत्रमा त्रास बढेको छ ।

Scroll to Top