रौनक हराएको दसैँ : भोटेकोशीले खोसेको खुसी, गाउँभरि शोक

काठमाडौँ : कतै दसैँको उल्लास छ, कतै आफन्तसँगको मिलनको खुसी। तर गोरखाको पालुङटार नगरपालिका–५ मा यसपालि दसैँको रौनक छैन। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले गाउँका ३० जनालाई बेपत्ता बनाएपछि यहाँका घरआँगन शोकमा डुबेका छन्। चाड आएको छ, तर खुसी हराएको छ।

त्यस दिन बिहान करिब ४ः३० बजे पालुङटारबाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्ड यात्रामा निस्किएको थियो। बाढीले बस बगाउँदा ३० जना बेपत्ता भए भने छ जना सकुशल सम्पर्कमा आए। कतिपय परिवारले आफन्तको शवसमेत पाएनन्। कुशको प्रतिमा बनाएर काजक्रिया गर्नुपर्ने अवस्था आयो।
छोरा र श्रीमती गुमाएका टीकाराम
बस चालक सागर देवकोटाका बुबा टीकारामले बाढीमा छोरा र श्रीमती राममायालाई गुमाए। परिवारको सहारा बनेको छोरा र जीवनसाथी एकैपटक गुमाउँदाको पीडाले उनलाई थला पारेको छ।

‘हाम्रो त्यही एउटा गाडी थियो। छोरा आफैँले चलाउँथ्यो। त्यस दिन बिहानै हिँडेको छोरा र श्रीमतीलाई पनि बाढीले बगायो। अरू आफन्त पनि गुमाएँ,’ टीकारामले भने, ‘दसैँ सुरु भएदेखि नै विगतका सम्झनाले झस्काउँछ। अरूका घरमा रमझम छ, हाम्रो घरमा तनाव छ।’

अहिले घरमा ८० वर्ष नाघेका बुबा, सुस्त मनस्थितिकी छोरी, बुहारी र पाँच वर्षीया नातिनी छन्। परिवारको खर्च छोराकै कमाइबाट चल्थ्यो। उनको मृत्युपछि परिवारको भविष्य अनिश्चित बनेको छ।
आमाबुबाको सम्झनामा सागर
सागर देवकोटाले पनि बुबा रामहरि र आमा कमला गुमाएका छन्। दसैँमा घर फर्किएर आमाको हातले सिँगारिएको घरमा बस्ने र बुबाले तयार पारेको खसी काटेर चाड मनाउने उनका सम्झना अब विगत बनेका छन्।

‘जीवनभर एकअर्काको छहारी बनेर बाँच्नुभएका बुबाआमाले जाँदा पनि कसैलाई एक्लै छाड्नुभएन। जिउँदा पनि सँगै, मर्दा पनि सँगै भन्ने बोलीलाई उहाँहरूले आफ्नै जीवनको अन्तिम सत्य बनाइदिनुभयो,’ सागरले सामाजिक सञ्जालमा लेखेका छन्।

आमाको शव र बुबाको कुशको प्रतिमा एउटै चितामा राखेर दागबत्ती दिएको क्षण सम्झँदा उनको मन भारी हुन्छ। बुबाआमाको साथ गुमेपछि दसैँको खुसी पनि हराएको छ।

पालुङटार–५ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार गाउँमा यसपालि दसैँको कुनै उल्लास छैन। ‘पहिले दसैँमा परदेश गएकाहरू फर्किन्थे, आफन्त जम्मा हुन्थे। यस वर्ष गाउँ शोकमा छ,’ उनले भने।
मृत्यु दर्ता नहुँदा राहतमा समस्या
बाढीमा बेपत्ता भएका आफन्तको कानुनी अवस्था टुङ्गो नलाग्दा पीडित परिवारले राहत, क्षतिपूर्ति, बीमा र सम्पत्तिको हकदाबीमा समस्या भोगिरहेका छन्।

‘छोरा र श्रीमती अब फर्केर आउँदैनन्। बाँच्नेको जीवन केही सहज बनाउन मृत्यु दर्ताको प्रमाणपत्र पाए बीमालगायतका सुविधा लिन सकिन्थ्यो,’ टीकारामले भने।

सागरका अनुसार आफन्त गुमाउनुको पीडामाथि कानुनी प्रक्रियाको झन्झट थपिएको छ। मृत्यु दर्ता र बेपत्तासम्बन्धी कागजात नहुँदा गण्डकी प्रदेश सरकारले घोषणा गरेको राहत रकम लिनसमेत कठिनाइ भएको पीडितको गुनासो छ।
अझै हटेन बाढीको त्रास
बसका सहचालक निरज भण्डारीले त्यस दिनको घटना अझै बिर्सन सकेका छैनन्। नुवाकोटको भैँसे पुगेपछि बाढी आएको हल्ला सुनिए पनि कसैले ठूलो विपत्ति आउला भन्ने सोचेका थिएनन्।

अचानक माटो, ढुङ्गा र लेदो मिसिएको भेल उर्लियो। ‘गाडी रोक, गाडी रोक’ भन्ने आवाज सुनियो। निरज भागेर माथि पुगे। फर्केर हेर्दा बस बाढीमा बगिसकेको थियो।

‘आफू बाँचेको खुसीभन्दा पनि सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढीलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ,’ उनले भने, ‘त्यो दिन सम्झँदा अझै डर लाग्छ।’

बाढीबाट बाँच्न सफल अन्य यात्रु पनि घटनाको त्रासबाट मुक्त हुन सकेका छैनन्। गाउँका घरमा चुलो बल्छ, तर मनमा खुसी छैन। अरूका घरमा टीका र जमराले दसैँको रौनक थपिरहेका बेला पालुङटार–५ का परिवार भने बेपत्ता आफन्तको सम्झना र विछोडको पीडामा छन्।

Scroll to Top