काठमाडौं : पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङ क्षेत्रबाट नेपालले सांस्कृतिक सम्पदा संरक्षण, वातावरणीय सन्तुलन र आधुनिक पूर्वाधार विकासका क्षेत्रमा धेरै कुरा सिक्न सक्ने बताएकी छन्।
साइनो नेपाल कल्चरल एन्ड टुरिज्म प्रमोसन सोसाइटीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संस्कृति संरक्षणलाई रोजगारी र पर्यटनसँग जोड्ने सिचाङको अभ्यास नेपालका लागि उपयोगी हुन सक्ने बताइन्। नेपालको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै त्यसलाई आर्थिक अवसरसँग जोड्नुपर्नेमा उनले जोड दिइन्।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल र सिचाङबीच सदियौँदेखि घनिष्ठ सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको बताए। सिचाङको संस्कृति नेपालको नेवाः संस्कृतिसँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै उनले दुई क्षेत्रबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्ने धारणा राखे।
‘नेपाल र सिचाङको सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ छ,’ निरौलाले भने, ‘त्यहाँको पर्यटन प्रवर्द्धन, रेलमार्ग, सुरुङमार्गसहित अत्याधुनिक विकासबाट नेपालले सिक्नुपर्छ।’
उनले सिचाङस्थित पोताला दरबारमा वार्षिक चार करोडभन्दा बढी पर्यटक पुग्ने गरेको उल्लेख गर्दै त्यसको सानो हिस्सा मात्रै नेपाल भित्र्याउन सके पनि नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन आउन सक्ने बताए। त्यसका लागि राज्यले पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
केही दिनअघि सिचाङ भ्रमण गरेर फर्किएको नेपाली टोलीका सदस्य एवं बौद्ध दर्शनका जानकार मोहनकुमार तामाङले नेपाल र सिचाङबीच १४औँ शताब्दीदेखि नै जनस्तरमा मित्रवत् सम्बन्ध रहेको बताए। सिचाङले बौद्ध सम्पदाको संरक्षणमार्फत ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरेको उल्लेख गर्दै नेपालका गुम्बा र सिचाङका बौद्ध सम्पदाबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धबारे व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए।
कलाकार राजु पौडेल (मास्टर) ले सिचाङ भ्रमणबाट सम्पत्ति मात्र नभई सांस्कृतिक सम्पदा पनि जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्त्वपूर्ण पाठ सिकेको बताए। नेपालको पहिचानका रूपमा रहेका कला, संस्कृति र मठमन्दिरको संरक्षणमा अब विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो।
वरिष्ठ पत्रकार दीपक रिजालले सिचाङको विकास, वातावरण संरक्षण, सरसफाइ, अनुशासन र पूर्वाधार निर्माणका अभ्यासबाट नेपालले सिक्नुपर्ने बताए। विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा त्यहाँको सरकारले देखाएको सक्रियता प्रशंसनीय रहेको उनले उल्लेख गरे।
आयोजक संस्थाका अध्यक्ष ध्रुव पौडेलले सिचाङका अनुभवबाट नेपालको पर्यटन तथा हिमाली क्षेत्रले लाभ लिन सक्ने बताए। नेपाल र सिचाङका हिमाली सम्पदा, परम्परागत ज्ञान तथा सीपबीच समानता रहेकाले त्यहाँका असल अभ्यास र मूल्य–मान्यतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल र सिचाङ क्षेत्रका महत्त्वपूर्ण सांस्कृतिक सम्पदा तथा पर्यटन गन्तव्यसँग सम्बन्धित वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो। वक्ताहरूले सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र आधुनिक पूर्वाधार विकासलाई एकसाथ अघि बढाउन सके नेपालले आफ्नो मौलिक पहिचान जोगाउँदै आर्थिक अवसर विस्तार गर्न सक्ने धारणा राखेका थिए।






