काठमाडौँ — छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल च्याम्पियनसिपको लिग चरण समाप्तिसँगै दोलखा चेस होम, कोशी प्रदेश चेस संघ, भक्तपुर र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा पुगेका छन् । सबै टिमले १०–१० अंक बटुलेका थिए ।

बिहीबार उत्कृष्ट खेलिरहेको दोलखा चेसमाथि लिगको अन्तिम खेलमा कोसी प्रदेशले रोमाञ्चक जित निकाल्यो । त्यसमा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाशचन्द्र नेपाललाई हराए । सुश्रुत दाहाल र सविनचन्द्र घिमिरेबीचको खेल बराबरीमा टुंगियो । मुहान नर्सिङ भने मिसन दाहालसँग पराजित भए । महिला नेपाल च्याम्पियन डब्लूएफएम सुजना लोहनी भने कृतिसरा अधिकारीसँग पराजित भइन् । जितबाट कोशी चेस अग्रता बनाइरहेको दोलखा चेससँगै नकआउट चरणमा पुग्यो ।
भक्तपुर चेसले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५–१.५ अंकको कठिन जित निकाल्यो । पुरुषोत्तम सिलवाल र क्षितिज भण्डारीबीचको खेल बराबरीमा टुंगियो । विक्रम चोकामी भने सुशील चौधरीसँग पराजित भए भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुपजंग शाहमाथि जित पाए ।
मकवानपुर र आयोजक ललितपुर स्पोर्ट्स क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा पुग्ने थियो । उक्त खेलमा सीएम कृष्ण थापा, सिन्देश्वर दास र अनुष्ण गौतमसहित तीन खेलाडीले जित निकाल्दै ३–१ ले टोलीलाई जित दिलाए भने सुदेन तुइतुइ भने रिसोन थापासँग पराजित भए ।
बिहीबारै छैटौं चारणमा दोलख चेसले मकवानपुरमाथि २.५–१.५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दाहालद्वयको जित र मुहान नर्सिङले बराबरी खेलेर टिमलाई नकआउट चरणमा उकालेका थिए । आयोजक ललितपुर स्पोर्ट्स क्लबले थापाथली चेस पार्कसँग टिमले बराबरी खेलेको थियो । कोसी प्रदेश र दोलखा जिल्ला चेस संघबीचको खेल २–२ को बराबरीमा टुंगिएको थियो भने भक्तपुरले लुम्बिनी इभेन्ट म्यानेजमेन्टमाथि ३–१ ले जित हात पारेको थियो ।


Leave a Comment