झापा : झापाको भद्रपुरमा विगत २५ वर्षदेखि बडादसैँका अवसरमा नियमित दुर्गा सप्तशती पाठ पारायण गर्दै आएका पण्डित सीताराम कोइराला सम्मानित भएका छन्।
भद्रपुर नगरपालिका–१० केन्द्रमोडस्थित दुर्गा माता उपासना समितिले धार्मिक अनुष्ठानमा निरन्तर योगदान पुर्याएको भन्दै कोइरालालाई सम्मानपत्र प्रदान गरेको हो। समितिले बडादसैँको अवसरमा प्रत्येक वर्ष घटस्थापनादेखि दसैँको मुख्य दिन विजयादशमीसम्म नियमित रूपमा दुर्गा सप्तशती पाठ पारायण गर्दै आएको छ।
धार्मिक परम्पराको संरक्षण र निरन्तरताका लागि आयोजना हुँदै आएको उक्त अनुष्ठानमा पण्डित कोइरालाले २५ वर्षदेखि पाठ पारायण गर्दै आएका छन्। उनको निरन्तर धार्मिक सेवाको कदर गर्दै समितिले सम्मान गरेको जनाएको छ।
दुर्गा सप्तशती पाठलाई हिन्दू धर्मावलम्बीले देवी दुर्गाको आराधना तथा उपासनाका लागि महत्त्वपूर्ण धार्मिक ग्रन्थका रूपमा लिने गर्छन्। बडादसैँका अवसरमा गरिने यस्तो पाठ पारायणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै परम्परागत संस्कार र संस्कृतिको निरन्तरतामा समेत योगदान पुर्याउँदै आएको छ।
दुर्गा माता उपासना समितिका अध्यक्ष मोहनकुमार पराजुलीको अध्यक्षता तथा मणिराम न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पण्डित कोइरालालाई सम्मानपत्र प्रदान गरिएको थियो।
समितिका महासचिव हरिकिशोर आचार्यका अनुसार धार्मिक अनुष्ठानलाई निरन्तरता दिने क्रममा पण्डित कोइरालाले पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।






