झापा : दसैँको मुखैमा झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर घाइते भएका छन्। मंगलबार बिहान बस्तीमा प्रवेश गरेका दुईवटा जंगली हात्तीले आक्रमण गर्दा बाह्रदशी–२ का स्थानीयको ज्यान गएको हो।
बाह्रदशी गाउँपालिका–२, जनता बजारकी करिब ७० वर्षीया नजमा खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ। मंगलबार बिहान करिब ५:३० बजे मर्निङ वाकमा निस्किएकी खातुनलाई बस्तीमा प्रवेश गरेको हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।
मृतक खातुनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।
हात्तीको आक्रमणबाट बाह्रदशी–२ कै चैतन्यबारी क्षेत्रका करिब ७३ वर्षीय झप्टु राजवंशी पनि गम्भीर घाइते भएका छन्। बिरिङ खोलानजिक हात्तीले आक्रमण गर्दा उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ। घाइते राजवंशीको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशी गाउँपालिका सचिव हेमन्त पाण्डेले जनाकारी दिए ।
चाडपर्वको मुखमा स्थानीय त्रसित
बिहानै बस्तीमा प्रवेश गरेका जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु र अर्का एक जना घाइते भएपछि बाह्रदशी क्षेत्रका स्थानीय त्रसित बनेका छन्। दसैँको तयारी र चाडपर्वको उल्लासमा रहेका स्थानीयलाई घटनाले शोकमा डुबाएको छ।
बिहानको समयमा घरबाहिर निस्किएका स्थानीयमाथि नै हात्तीले आक्रमण गरेपछि बस्ती आसपासका बासिन्दाले आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। विशेषगरी बिहान र साँझ घरबाहिर निस्कनुपर्ने स्थानीयलाई हात्तीको आवागमनले जोखिम बढाएको छ।
बाह्रदशी क्षेत्रमा यसअघि पनि जंगली हात्ती बस्तीमा प्रवेश गरी घर, अन्नबाली तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउँदै आएका थिए। तर, यसपटक हात्तीको आक्रमणबाट मानवीय क्षति भएपछि वन्यजन्तुको जोखिम नियन्त्रण र स्थानीयको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ।
हात्ती नियन्त्रण र सुरक्षाको माग
जंगल आसपासका बस्तीमा जंगली हात्तीको आवागमनले स्थानीयको जनजीवन प्रभावित हुँदै आएको छ। हात्ती बस्तीमा प्रवेश गर्दा घर तथा अन्नबालीमा क्षति पुग्ने मात्र नभई मानवीय ज्यानसमेत जोखिममा पर्ने अवस्था देखिएको छ।
स्थानीयले जंगली हात्तीको आवागमनबाट हुने क्षति न्यूनीकरण गर्न तथा सम्भावित मानवीय दुर्घटना रोक्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्। हात्तीको गतिविधिबारे समयमै सूचना दिने व्यवस्था, जोखिमयुक्त क्षेत्रमा निगरानी र स्थानीयलाई सुरक्षित रहने उपायबारे जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ।






