दसैँको खुसी बाँड्दै विपन्न परिवारलाई रास्वपाको खाद्यान्न सहयोग

झापा : दसैँको उल्लासमा गाउँबस्ती र घरआँगन रमाइरहेका बेला खाद्यान्न अभावका कारण चाड मनाउनसमेत कठिनाइमा परेको एक विपन्न परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिले सहयोग गरेको छ।

बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा टोलमा बसोबास गर्दै आएका सोममाया कुमाल र उनका श्रीमान् जोगेन्द्र रायलाई रास्वपा नगर समितिले घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। सुकुम्बासी परिवारका उनीहरू दुई जना मात्रै छन्।

आर्थिक अभावका कारण दसैँमा समेत आवश्यक खाद्यान्न जुटाउन नसकेको परिवारको अवस्थाबारे जानकारी पाएपछि सहयोग गरिएको रास्वपा बिर्तामोड–४ का वडा सभापति लक्ष्मीप्रसाद खरेलले बताए।

छिमेकमा दसैँको चहलपहल र रमझम भइरहँदा आफ्नो घरमा भने चाड मनाउन आवश्यक सामग्रीको अभावमा बस्नुपर्ने बाध्यता देखेपछि परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको खरेलले जानकारी दिए।

चाडपर्वको खुसीबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने भावनासहित नगर समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको उनले बताए।

दसैँजस्तो पारिवारिक मिलन र खुसी साटासाट गर्ने पर्वमा आर्थिक अभावमा रहेका परिवारलाई सहयोग गर्नुले सामाजिक सद्भाव र मानवीय संवेदनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Scroll to Top