झापा : खजुरगाछी दुर्गा मन्दिर समितिको आयोजनामा कात्तिक ७ गते सन्थाल नृत्य मेला आयोजना हुने भएको छ। गौरिगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा आयोजना हुने मेलामा सन्थाल समुदायका विभिन्न समूहले परम्परागत नृत्य प्रस्तुत गर्नेछन्।
बडादसैँको अवसर पारेर आयोजना गर्न लागिएको मेलाको उद्देश्य सन्थाल समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। मेलाले समुदायको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै आपसी सद्भाव र एकता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नृत्य मेलामा सहभागी समूहलाई प्रोत्साहन गर्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सहभागीमध्ये एक समूहलाई सान्त्वना पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीयस्तरमा सन्थाल समुदायको सांस्कृतिक पहिचानलाई थप स्थापित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा सहभागी हुन आयोजकले सम्बन्धित समुदाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।






