झापा : विजया दशमीको उमङ्ग, गाउँबस्तीमा छाएको उत्सवमय वातावरण र खेलप्रेमीको उत्साहबीच झापाको बाह्रदशी–५ कटरडाँगीमा आयोजित टोलस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि मुक्ति टोलले जितेको छ।
विजया दशमीको रौनकलाई थप उल्लासमय बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा मुक्ति टोलले कटरडाँगी भेट्रान्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दा दर्शकले रोमाञ्चक फुटबलको आनन्द लिएका थिए।
कटरडाँगीस्थित स्थानीय विद्यालयको खेलमैदानमा भएको फाइनलमा मुक्ति टोलका मैनाथ कोइराला, फिलेमान आलेमगर र टाइगर योङहाङले गोल गरे। कटरडाँगीका दलबहादुर श्रेष्ठले व्यक्तिगत दुई गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए पनि टोलीलाई उपाधि दिलाउन सकेनन्।
उपाधिसँगै मुक्ति टोलले नगद ३० हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेतामा सीमित कटरडाँगीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो। फाइनलमा निर्णायक प्रदर्शन गरेका मुक्ति टोलका टाइगर योङहाङ प्लेयर अफ दी म्याच घोषित भए।
चाडपर्वको अवसरमा आयोजित यस्ता प्रतियोगिताले गाउँबस्तीमा खेलकुदको वातावरण निर्माण गर्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुर्याउने विश्वास आयोजकको छ। चाडको उल्लाससँगै खेलमैदानमा जुटेका खेलाडी र दर्शकले प्रतियोगितालाई थप उत्सवमय बनाएका थिए।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि विर्तासिटी एजुकेसनका अनिल सापकोटा, झापा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का र आयोजक क्लबका अध्यक्ष उमेश योङहाङलगायतले पुरस्कार वितरण गरे।






