झापा : प्रगतिशील समाज बिर्तामोड–८ ले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड–८ स्थित ज्येष्ठ नागरिक भवन, हर्चना चोकमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकारहरूसँग अन्तरक्रियासमेत गरिएको थियो। संस्थाका अध्यक्ष रनकेशर चालिसे (बबी) को अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरूले संस्थाका गतिविधि र आगामी योजनाबारे धारणा राखेका थिए।
कार्यक्रममा सल्लाहकार संयोजक जलकुमार गुरुङ, डा. रामबाबु खड्का, बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिना, गैरसरकारी संस्था महासंघ झापाका पूर्वअध्यक्ष हरिप्रसाद गौतम, समाजसेवी डम्बरप्रसाद तिम्सिना, उदयबहादुर कुँवर, बिर्तामोड–८ का वडा सदस्य अग्नि सिटौला, समाजसेवी लोकनाथ मिश्र, अधिवक्ता खगेन्द्र खरेल र प्रेम तिम्सिनालगायत सहभागी थिए।
कार्यक्रममा सहभागी सल्लाहकारहरूले संस्थाले छोटो अवधिमै गरेका रचनात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। दसैँपछि संस्थाका गतिविधिलाई थप व्यवस्थित गर्दै अघि बढाउन आफूहरूको साथ र सहयोग रहने उनीहरूको भनाइ थियो।
कार्यक्रममा संस्थाका सहसचिव मनोज दाहालले स्वागत मन्तव्य राखेका थिए भने सचिव अनिल गौतमले सञ्चालन गरेका थिए।






