झापा : लागूऔषध दुर्व्यसन नियन्त्रण र युवा पुस्तालाई यसको जोखिमबारे सचेत गराउने उद्देश्यले झापाको हल्दीबारी गाउँपालिकाले विद्यालय केन्द्रित अभियान थालेको छ। गाउँपालिकाले ‘से नो टु ड्रग्स’ अभियानअन्तर्गत पालिकाभित्रका ३० सामुदायिक तथा संस्थागत विद्यालयलाई सचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ।
मङ्गलबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूलाई लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार पारिएका पोस्टर प्रदान गरिएको हो। विद्यालय र समुदायसम्म अभियान विस्तार गरी बालबालिका तथा युवालाई दुर्व्यसनबाट जोगाउने लक्ष्य गाउँपालिकाले लिएको छ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले लागूऔषध नियन्त्रणका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने बताए। समाजका सबै पक्षको सक्रिय सहभागिता र सहकार्यबाट मात्रै लागूऔषधमुक्त समाज निर्माण गर्न सकिने उनको भनाइ थियो। उनले अभियानमा ऐक्यबद्ध हुन सबैलाई आग्रह गरे।
हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले लागूऔषध दुर्व्यसन रोकथामलाई साझा दायित्वका रूपमा लिनुपर्ने बताए। स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक, युवा र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उनले औँल्याए।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्देश्य र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराइन्। कार्यक्रममा लागूऔषध दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव समेटिएको सचेतनामूलक लघु वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले स्वागत गरेको कार्यक्रम सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेका थिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, पाँचवटै वडाका अध्यक्ष, कार्यपालिका तथा वडा सदस्य, शाखा प्रमुख, कर्मचारी, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो।
विद्यालय र समुदायस्तरमा सचेतना फैलाउँदै युवा पुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउने तथा स्वस्थ र सुरक्षित समाज निर्माण गर्ने अभियानको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।






