झापा : भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका ६ नेपाली बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ। विभिन्न परिस्थितिमा भारत पुगेपछि परिवारबाट छुट्टिएका उनीहरूलाई नेपाल र भारतका सम्बन्धित निकायको समन्वयमा स्वदेश फर्काइएको हो।
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास र नव अभियान नेपालको पहलमा बालबालिकाको उद्धार तथा पुनर्मिलन प्रक्रिया पूरा भएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए।
पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वर्षीया सीता लिम्बू, १४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी र १५ वर्षीय सन्दीप गुप्ता छन्। बालबालिकाको गोपनीयता र सुरक्षाका लागि समाचारमा नाम परिवर्तन गरिएको जनाइएको छ।
उनीहरू फरक–फरक परिस्थितिमा परिवारबाट छुट्टिएर भारत पुगेका थिए। प्राप्त विवरणअनुसार सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा जाने क्रममा भारतको ओडिशाबाट हराएकी थिइन्।
इलामकी सीता घरबाट एक्लै भारत गएका बेला परिवारबाट छुट्टिएकी थिइन्। मोरङको उर्लाबारीकी पूजा भने २०८० सालतिर भारतको सिलिगुडीस्थित सालबारीमा आफन्तको घरमा बसेर काम गर्दै पढिरहेको अवस्थामा हराएकी थिइन्।
त्यस्तै, धनुषाको रघुनाथपुरका कमल केही महिनाअघि भिनाजुसँग कोलकाता घुम्न गएका बेला हराएका थिए। सर्लाहीको बलरा क्षेत्रका विनोद गत असारमा भारतको पञ्जाबमा धान रोपाइँको काम सकेर परिवारसँग घर फर्किने क्रममा अमृतसरमा छुट्टिएका थिए। बाराको कलैयाका सन्दीप गाउँका दाजुहरूसँगै काम गर्न तमिलनाडु जाने क्रममा परिवारबाट अलग भएका थिए।
विभिन्न संरक्षण गृहमा थिए बालबालिका
उद्धार गरिएका बालबालिकामध्ये पूजा र सीता दार्जिलिङको माटीगढास्थित चिल्ड्रेन्स होम फर गर्ल्समा रहेका थिए। रीता हावडास्थित एसएमएम होममा, विनोद कोलकातास्थित न्यू एज सोसाइटीमा तथा कमल र सन्दीप हावडास्थित इतिन्दा संरक्षण गृहमा थिए।
सन्दीपलाई संरक्षण गृहबाट अभिभावक प्रेमचन्द गुप्ताले जिम्मा लिएर घर फर्काएका थिए। यसका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूतावास र नव अभियान नेपालले समन्वय गरेका थिए।
बालबालिकालाई परिवारको जिम्मा लगाउने प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईं, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधि तथा अभिभावक सहभागी थिए।
सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको बस्नेतले बताए।
उनका अनुसार जोखिममा परेका नेपाली बालबालिकाको खोजी, संरक्षण, उद्धार, कानुनी सहायता र परिवारसँग सुरक्षित पुनर्मिलन गराउने कार्यलाई संस्थाले प्राथमिकतामा राख्दै आएको छ।






