झापा : अभिनेता राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन आवास परियोजना ‘वास्तु विहार’को उद्घाटन गरेका छन्। टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालिले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदि स्कुलनजिक सञ्चालन गरिरहेको परियोजनाको शनिबार हमालले भूमिपूजा गर्दै उद्घाटन गरेका हुन्।
कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका हमालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। बडादसैँको फूलपातीको अवसर पारेर कम्पनीले बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा गायिका रचना रिमालसहित स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा हमाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए।
बिर्तामोडमा ३५ घर निर्माणाधीन
कम्पनीका अनुसार बिर्तामोड–२ मा हाल करिब ३५ वटा घर निर्माणाधीन छन्। नेपालमा आवास निर्माणको क्षेत्रमा काम गरिरहेको कम्पनीले विराटनगर र वीरगञ्जमा समेत परियोजना सञ्चालन गरिरहेको जनाएको छ।
भारतमा सन् १९९४ मा स्थापना भएको टेक्नोकल्चरले आवास निर्माण क्षेत्रमा काम गर्दै आएको छ। नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर नेपालका विभिन्न स्थानमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको कम्पनीको भनाइ छ।
एकैपटक ठूलो रकम खर्च गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले जग्गा खरिददेखि घर निर्माणसम्म चरणबद्ध भुक्तानीको व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था छ।
जग्गा पास भएपछि नक्सा पासलगायत प्रशासनिक प्रक्रिया पूरा गर्न सहजीकरण गर्ने र सम्झौताअनुसार घर निर्माण अघि बढाउने कम्पनीले जनाएको छ। निर्माणको प्रगतिका आधारमा ग्राहकले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार भारतमा हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ। भारतमा आवास निर्माणको क्षेत्रमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै व्यवस्थित र सहज रूपमा आवास उपलब्ध गराउने लक्ष्य कम्पनीले लिएको छ।
घर निर्माणसँगै ग्राहकलाई आवश्यक प्रशासनिक तथा अन्य प्रक्रियामा सहजीकरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ। व्यवस्थित आवासको माग बढिरहेका बेला चरणबद्ध भुक्तानी प्रणाली र निर्माण प्रक्रियामा सहजीकरणमार्फत ग्राहकलाई घर खरिद सहज बनाउने कम्पनीको दाबी छ।






