धोकाको राजनीतिले निष्ठालाई सधैं ओझेलमा पार्न सक्दैन : भट्टराई

धुलाबारी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक गोमा भट्टराईले धोकाको राजनीति गर्नेले क्षणिक चटक देखाए पनि निष्ठाको राजनीतिलाई सधैं ओझेलमा पार्न नसक्ने बताएकी छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले जालझेल र षड्यन्त्रका माध्यमबाट पार्टी कब्जा गर्ने सोच गलत भएको बताइन्। पार्टीमा निष्ठा, इमानदारी र विधिको राजनीति स्थापित हुनुपर्ने उनको भनाइ थियो।

कांग्रेसकी केन्द्रीय सदस्य माहेन्द्राकुमारी सुब्बा लिम्बूले गत वर्ष भदौ २२ गतेसम्म सभापति शेरबहादुर देउवाको निवासमा २०८३ भदौमा महाधिवेशन गर्ने सहमति गरेर भोज खाइरहेका दुई महामन्त्रीले भदौ २४ पछि विशेष महाधिवेशनको माग रहस्यमय ढंगले अघि बढाएको आरोप लगाइन्।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन तयारी समिति झापाका सचिव कृष्ण हुमागाईंले आफू बाहेक अरू कोही नेतृत्वमा स्थापित हुन नदिने प्रवृत्तिका कारण विशेष महाधिवेशन पक्षधरको अधिवेशनमा झापाबाट १९ जनाले उम्मेदवारी दिए पनि एक जनाले मात्रै चुनाव जित्न सकेको बताए।

कांग्रेसको इतिहास र विधानमा नभएको वरिष्ठ उपाध्यक्ष पद अचानक सिर्जना गरेर अरूलाई जानकारी नै नदिई पद हत्याउने प्रवृत्तिले कार्यकर्ताको संरक्षण, सुरक्षा र न्याय गर्न नसक्ने उनको भनाइ थियो। यही कारण झुटको पुलिन्दा बोकेको समूहलाई त्यागेर धेरै नेता तथा कार्यकर्ता पार्टीको मूलधारमा फर्किरहेको हुमागाईंले दाबी गरे।

जिल्ला अधिवेशन तयारी समितिका सदस्यसचिव सञ्जय निरौलाले अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्वको जिम्मेवारीमा पुर्‍याउने योजनासहित आफूहरू नियमित महाधिवेशनको तयारीमा जुटेको बताए।

क्षेत्र नं. १ क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक बालजित राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नारायणप्रसाद पोखरेलले उम्मेदवारी दर्ता प्रक्रिया र विभिन्न क्लस्टरका विषयमा जानकारी गराएका थिए।

कोशी प्रदेश सदस्य शोभा नेम्बाङले सञ्चालन गरेको कार्यक्रममा लक्ष्मी काफ्लेले स्वागत मन्तव्य राखेकी थिइन्।

Scroll to Top