झापा : पूर्वेली ढुवानी सेवा प्रालिले असोज महिनाको उत्कृष्ट चालकका रूपमा पाँचथरको फिदिम नगरपालिका–३ का सविन श्रेष्ठलाई सम्मान गरेको छ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले श्रेष्ठलाई ‘चालक अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्रसहित नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरेका हुन्।
चालकलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले असोज महिनादेखि ‘चालक अफ द मन्थ’ कार्यक्रम सुरु गरेको हो। चालकहरूको मनोबल वृद्धि र कार्यसम्पादनमा प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए।
कम्पनीले चालक तथा सहचालकले संस्थाको उन्नयनमा पुर्याएको योगदानको मूल्याङ्कन गरी वार्षिक रूपमा सम्मान गर्ने व्यवस्था पनि लागू गरेको जनाएको छ। उनीहरूको हितलाई ध्यानमा राख्दै कम्पनीले आकस्मिक कोषको समेत व्यवस्था गरेको छ।
यसअघि विश्वकर्मा पूजाको अवसरमा गत असोज १ गते कम्पनीले चालक तथा यातायात क्षेत्रका अग्रज व्यक्तित्वलाई सम्मान गरेको थियो। उत्कृष्ट चालकका रूपमा हिलिहाङ गाउँपालिका–२ का नरेश मगरलाई नगद ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ प्रदान गरिएको थियो।
त्यस्तै, उत्कृष्ट सहचालकका रूपमा हिलिहाङ गाउँपालिका–२ का सुजन हेम्ब्यालाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो। यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बिर्तामोड नगरपालिका–५ का तेजप्रसाद कडरियालाई पनि नगदसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।
चालक तथा सहचालकको योगदानको कदर गर्दै उनीहरूको मनोबल बढाउने र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।






