झापा : दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै झापामा २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिने भएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, पकेटमारी, जुवातास, सट्टेबाजी तथा झैँझगडाजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।
योजनाअनुसार जिल्लाका मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ड्रोनमार्फत निगरानी गरिनेछ। चाडपर्वका बेला मानिसको आवतजावत र भीडभाड बढ्ने भएकाले सम्भावित जोखिमको पहिचान तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रविधिको समेत प्रयोग गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार योजनाअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिनेछ। नेपाल प्रहरीका १ हजार १९२ र सशस्त्र प्रहरीका ९३५ गरी कुल २ हजार १२७ सुरक्षाकर्मी सुरक्षामा खटाइनेछन्।
“चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको हो,” प्रमुख जिल्ला अधिकारी पोखरेलले भने।
६२ स्थानमा पिकेट, सात क्यूआरटी तयारी अवस्थामा
सुरक्षा योजनाअनुसार जिल्लाका ६२ संवेदनशील स्थानमा पिकेट स्थापना गरिनेछ। त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती सञ्चालन गरिनेछ। सुरक्षा चुनौती देखिएका स्थानमा नियमित निगरानी बढाउनुका साथै आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने योजना छ।
सम्भावित घटना वा सुरक्षा चुनौती उत्पन्न भए तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्न सातवटा द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम–क्यूआरटी) तयारी अवस्थामा राखिनेछ। चाडपर्वका बेला हुने भीडभाड, विवाद तथा अन्य आकस्मिक घटनामा छिटो प्रतिक्रिया दिन यस्ता टोली परिचालन गरिनेछन्।
जिल्ला सुरक्षा समितिले चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई चाडपर्वका मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ। यस्ता घटना रोक्न नियमित तथा आकस्मिक चेकजाँच, संयुक्त सुरक्षा जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ।
सीमा क्षेत्रमा निगरानीदेखि यात्रु सहायतासम्म
भारतसँग खुला सीमा जोडिएको झापामा सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ। सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरी निगरानी बढाइने जिल्ला सुरक्षा समितिले जनाएको छ।
चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ। यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ भने सवारीचालकको स्वास्थ्य जाँचमा पनि जोड दिइनेछ। सवारी दुर्घटना न्यूनीकरण गर्न नियमित जाँच र निगरानीलाई प्रभावकारी बनाइने योजनामा उल्लेख छ।
चाडपर्वका बेला बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानमा चोरी तथा लुटपाटको जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त राख्न आग्रह गरिनेछ। त्यस्ता प्रतिष्ठानमा जडान गरिएका सीसी क्यामेरा चालु अवस्थामा राख्न तथा आवश्यक सुरक्षा सतर्कता अपनाउनसमेत सम्बन्धित पक्षलाई अनुरोध गरिने समितिले जनाएको छ।
नागरिकलाई पनि सतर्क रहन आग्रह
चाडपर्वमा किनमेल, पारिवारिक भेटघाट, धार्मिक गतिविधि तथा आवतजावत बढ्ने भएकाले सुरक्षा निकायले आफ्नो जिम्मेवारीसँगै नागरिकको सतर्कतालाई पनि महत्त्व दिएको छ। घर तथा पसल बन्द गरेर बाहिर जाँदा सुरक्षा व्यवस्था मिलाउन, नगद तथा बहुमूल्य सामग्री सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आवश्यक छ।






