झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा : झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्।

जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया पूरा गरी सात परिवारलाई कुल ८ हजार २२४ वर्गमिटर जग्गाको स्वामित्वसहितको लालपुर्जा वितरण गरेको हो।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङको अध्यक्षतामा आयोजित लालपुर्जा वितरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेलले लालपुर्जा हस्तान्तरण गरे।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार झापामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ६२ हजारभन्दा बढीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्। तीमध्ये भूमिहीन दलिततर्फ २ हजार ८९३, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७२८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६६६ जनाले निवेदन दिएका छन्।

जिल्लाका १५ वटै स्थानीय तहको नेतृत्वमा निवेदनमाथि छानबिन भइरहेको उनले बताए। प्रचलित कानुनअनुसार जग्गा प्राप्त गर्न योग्य निवेदकलाई समितिको क्षमता र उपलब्धताका आधारमा प्राथमिकतासाथ लालपुर्जा वितरण गरिने पोखरेलको भनाइ छ।

लालपुर्जा प्राप्त गर्नेमा अर्जुनधारा–११ का सुनिता विक, रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, वसन्तकुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम छन्।

Scroll to Top