झापा : वैदेशिक रोजगारीमा पठाउने नाममा म्यानपावरबाहेकका विभिन्न व्यावसायिक संस्थाले गैरसंस्थागत माध्यम अपनाउँदा श्रमिक असुरक्षित बन्नुका साथै त्यसको असर कानुनी प्रक्रिया पूरा गरेर काम गरिरहेका म्यानपावर व्यवसायीमा समेत पर्ने गरेको वैदेशिक रोजगार व्यवसायी संघ झापाले जनाएको छ।
संघको दोस्रो वार्षिक साधारणसभामा अध्यक्ष धनबहादुर पंधाकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा ब्युटी पार्लर, कन्सल्टेन्सी तथा तालिम केन्द्रलगायतका संस्थाले कानुनी प्रक्रिया पूरा नगरी वैदेशिक रोजगारीमा पठाउँदा विभिन्न समस्या उत्पन्न हुने गरेको उल्लेख छ।

बिहीबार बिर्तामोडमा सम्पन्न साधारणसभामा अध्यक्ष पंधाकले गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको आप्रवासनसम्बन्धी वास्तविक विवरण, गन्तव्य मुलुक, रोजगारदाता, रोजगार सम्झौता तथा सुरक्षासम्बन्धी जानकारी प्राप्त गर्न कठिन हुने बताए। यस्तो माध्यमबाट विदेश पुगेका श्रमिक समस्यामा पर्दा उद्धार, कानुनी सहायता तथा क्षतिपूर्तिको प्रक्रियासमेत जटिल बन्ने उनको भनाइ थियो।
अध्यक्ष पंधाकले संघको उद्देश्य, वैदेशिक रोजगार व्यवसायका अवसर र चुनौती, नीति तथा कार्यक्रम, भावी योजना र सामाजिक एवं सेवामूलक गतिविधिसमेत समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संघका अध्यक्ष पंधाकको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक, बिर्तामोड–१ का वडा सदस्य योगचन्द्र आङबुहाङ र नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव प्रदीप परियारले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने कामसँगै स्वदेशमै युवालाई रोजगारी उपलब्ध गराउनसमेत योगदान पुर्याएको बताएका थिए। वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नीरकुमार खत्री (निरन) ले गरेका थिए। संघका द्वितीय उपाध्यक्ष प्रकाश राईले व्यवसायीबीच एकता कायम गर्दै सदस्य संस्थाको हकहित संरक्षण तथा व्यवसायलाई सुरक्षित, मर्यादित, व्यवस्थित र उत्तरदायी बनाउन सहजीकरण गर्ने उद्देश्यले संघ स्थापना गरिएको जानकारी दिए।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख तिलक श्रेष्ठ, मेडिकल संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
संघकी महिला उपाध्यक्ष सरिता बराल, सचिवहरू राजेन्द्र पौडेल र पुष्पराज प्रसाई, कोषाध्यक्ष कृष्ण खतिवडा, सहकोषाध्यक्ष प्रेम निरौला तथा प्रवक्ता ओमप्रकाश भट्टराईसहित कार्यसमिति सदस्य र वैदेशिक रोजगार व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
झापाका १२७ वटा म्यानपावर संस्था सदस्य रहेको संघले व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक तथा परोपकारी गतिविधिसमेत सञ्चालन गर्दै आएको जनाएको छ। संघले रक्तदान, बाढीपीडितलाई सहयोग तथा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित गतिविधिमा सहयोग गर्दै आएको छ।






