झापा : झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका माछा तथा मासु पसलबाट उपभोगका लागि अनुपयुक्त एक क्विन्टलभन्दा बढी माछा र मासु बरामद गरी नष्ट गरिएको छ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा बिहीबार गरिएको बजार अनुगमनका क्रममा १९ वटा पसलबाट ८३ किलो मासु र २६ किलो माछा बरामद गरिएको हो। बरामद खाद्यवस्तु खाल्डोमा गाडेर नष्ट गरिएको संग्रौलाले जानकारी दिए।
अनुगमनका क्रममा केही पसलमा व्यवसाय सञ्चालनका लागि आवश्यक प्यान नम्बरसमेत नभेटिएको पाइएको छ। पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको संग्रौलाले बताए। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गरिएको उनको भनाइ छ।
अनुगमन टोलीमा उपप्रमुख संग्रौलासहित पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराई, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी सहभागी थिए।
पशु सेवा कार्यालयका प्रमुख भट्टराईले विगतका वर्षको तुलनामा यसपटक पसलको सरसफाइमा केही सुधार देखिए पनि बिक्रीका लागि सडेगलेका माछा र मासु राख्ने समस्या पूर्ण रूपमा हट्न नसकेको बताए। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मापदण्डविपरीत कारोबार गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासु भण्डारणको अवस्था र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजात जाँच गरिएको थियो।
माछा तथा मासु उचित तापक्रममा भण्डारण नगर्दा छिट्टै बिग्रने र त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले व्यवसायीलाई स्वच्छता र खाद्य गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।






