झापामा बजार अनुगमन तीव्र, पाँच फर्मलाई ५ लाख १५ हजार जरिवाना

झापा : उपभोक्ताको हितविपरीत काम गर्ने झापाका पाँच व्यावसायिक फर्मलाई जिल्ला प्रशासन कार्यालयले ५ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ। भदौ २० देखि असोज २८ गतेसम्म गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री गर्ने र अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त अवधिमा जिल्लाका १३४ वटा फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गरेको पाइएपछि पाँच व्यवसायलाई जरिवाना गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ।

कारबाहीमा पर्नेमा म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्स छन्। दुवै व्यवसायलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

त्यस्तै, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। ओमशान्ति मिष्ठान्न भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। दमक–१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीसमेत गरी दुई लाख ४० हजार ४४३ रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बजार निर्माणका लागि सहयोग गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।

Scroll to Top