बिर्तामोड : बिर्तामोड नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रम तथा त्यसको कार्यान्वयन प्रक्रियाबारे जानकारी गराइएको हो। बिर्तामोडमा यसै वर्षदेखि मनोसामाजिक परामर्श सेवा औपचारिक रूपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय तहमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध हुनुले नागरिकमा देखिने मानसिक समस्याको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। समयमै परामर्श सेवा उपलब्ध गराउन सके मानसिक समस्याबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउन सहज हुने उनको भनाइ थियो।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानसिक तनाव, चिन्ता, निराशा तथा पारिवारिक र सामाजिक समस्याको समयमै पहिचान गरी आवश्यक परामर्श र उपचार प्रक्रियामा सहजीकरण गर्न कार्यक्रम प्रभावकारी हुने बताए।
मनोसामाजिक परामर्श सेवासँगै सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना, परामर्श तथा आवश्यक सहयोगका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ।
कार्यक्रममा सामीका प्रदेश कार्यक्रम संयोजक गीता वञ्जारा, जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकी र कार्यक्रम अधिकृत रोहित विश्वकर्माले सहजीकरण गरेका थिए।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, उपसचिव तिलचन भण्डारीलगायत कार्यपालिका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो।






