पशुपति क्षेत्रको पार्किङ ठेक्का मिलाइदिने भन्दै ४३ लाख ठगी, झापाका श्रेष्ठसहित दुई पक्राउ

झापा : पशुपति क्षेत्र विकास कोषको पार्किङ ठेक्का मिलाइदिने प्रलोभन देखाएर ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१४ घर भई हाल काठमाडौंको कीर्तिपुरस्थित चोभारमा बस्दै आएका २८ वर्षीय अविनाश श्रेष्ठ र बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१६ मा बस्दै आएका ३२ वर्षीय उमेश भण्डारी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले नगद र चेकमार्फत गरी कुल ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीले दुवै जनालाई मंगलबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–८, गौशालाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बुधबार प्रहरी वृत्त गौशाला पठाइएको कार्यालयले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषको पार्किङ ठेक्का दिलाइदिने आश्वासन दिएर रकम लिएको आरोपमा पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Scroll to Top