बिर्तामोड : झापाको बिर्तामोडमा काङ्गारु एजुकेसन फाउन्डेसन र टावर टेम्पल इङ्लिस बोर्डिङ स्कुलले एक बालकलाई कक्षा १० सम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएका छन्।
बिर्तामोड–४ निवासी गोपाल मार्दी र मैना मुर्मुका छोरा काजी मार्दीलाई दुवै संस्थाले संयुक्त रूपमा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्। काजी हाल टावर टेम्पल इङ्लिस बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत छन्।
आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित होस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको काङ्गारु एजुकेसन फाउन्डेसनले जनाएको छ। यस पहलले आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काङ्गारु एजुकेसन फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, मानवीय सहयोग र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि संस्थाले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको थियो।
छात्रवृत्ति प्रदान गर्ने कार्यक्रममा टावर टेम्पल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजप्रसाद भट्टराई र काङ्गारु एजुकेसन फाउन्डेसनका प्रतिनिधि सुरज थापाको उपस्थिति थियो।
शिक्षालाई सामाजिक रूपान्तरणको आधार मान्दै आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको संस्थाले जनाएको छ। निजी शैक्षिक संस्था र सामाजिक संस्थाबीचको सहकार्यले विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न सक्ने उदाहरणका रूपमा यस पहललाई हेरिएको छ।






