झापा : मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि दुई दशकदेखि काम गर्दै आएको आशिष सामाजिक सेवा नेपालले झापाको भद्रपुर सीमा नाकामा निगरानी सुरु गरेको छ। मानव बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको पहिचान, रोकथाम र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले भद्रपुर नगरपालिका–५ मा आफ्नो १४औँ शाखा स्थापना गरी सेवा थालेको हो।
झापाको प्रहरी प्रशासन, स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिक समाजसँग समन्वय गर्दै संस्थाले सीमा निगरानी र परामर्श सेवा अघि बढाएको छ। मानव बेचबिखनको जोखिम रहे पनि पर्याप्त संस्थागत निगरानी नभएकाले भद्रपुर नाकालाई कार्यक्षेत्र बनाइएको संस्थाका कार्यकारी निर्देशक युवराज विश्वकर्माले बताए।
उनका अनुसार यसअघि संस्थाले कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको गुलरिया, बाँकेको नेपालगन्ज, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको ककरहवा, लुम्बिनी र बेलहिया, बुटवल बसपार्क, नवलपरासीको महेशपुर, पर्साको वीरगन्ज र ठोरी, रौतहटको गौर तथा सर्लाहीको मलंगवामा सीमा निगरानी गर्दै आएको छ।
भद्रपुर नाकामा साना हातहरू नामक संस्थाले पनि निगरानीको काम गर्दै आएको छ। पूर्वी नाका काँकडभिट्टामा भने विभिन्न संस्थाले मानव बेचबिखन नियन्त्रणका लागि काम गरिरहेका छन्।
उद्धारपछि पुनःस्थापनासम्म सहयोग
आशिष सामाजिक सेवा नेपालले मानव बेचबिखन तथा लैङ्गिक हिंसाबाट प्रभावित र जोखिममा रहेका महिला तथा किशोरीको उद्धार, संरक्षण, पुनःस्थापना र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका प्रत्येक शाखामा उद्धार गरिएका महिला तथा किशोरीलाई पारिवारिक पुनर्मिलन नहुँदासम्म सुरक्षित राख्न आपत्कालीन आवासको व्यवस्था रहेको कार्यकारी निर्देशक विश्वकर्माले जानकारी दिए।

२०६३ भदौ २० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको संस्था समाज कल्याण परिषद्सँग आबद्ध गैरनाफामूलक सामाजिक संस्था हो। यसले प्रभावित महिलालाई सीप विकास तालिम, शिक्षाको अवसर, व्यावसायिक पुनःस्थापना तथा आत्मनिर्भर बन्न आवश्यक सहयोग प्रदान गर्दै आएको छ।
संस्थाले मानव बेचबिखनको जोखिममा रहेका, आर्थिक समस्याबाट प्रभावित तथा लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई लक्षित गरी सीमा निगरानी, परामर्श, जनचेतनामूलक कार्यक्रम, सीप विकास तालिम, छात्रवृत्ति, शिक्षक सहयोग तथा कानुनी सहायता उपलब्ध गराउँदै आएको छ। रुपन्देहीको बुटवल–२ र चितवनको भरतपुर–८ मा सीपमूलक तालिम केन्द्रसमेत सञ्चालनमा रहेको संस्थाले जनाएको छ।
उद्धार गरिएका महिला तथा बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने, सीप सिकाएर जीविकोपार्जनमा सहयोग गर्ने र व्यवसाय सञ्चालनमार्फत आत्मनिर्भर बनाउने कार्यक्रमलाई संस्थाले प्राथमिकता दिएको छ।
सीमा आसपासका क्षेत्रमा पनि निगरानी गर्न आग्रह
भद्रपुर नाकामा सुरु गरिएको निगरानीबारे जानकारी दिन संस्थाले मंगलबार भद्रपुरमा समन्वयात्मक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भारतसँगको खुला सीमा भएकाले निगरानीलाई नाकामा मात्र सीमित नराखी आसपासका क्षेत्रमा समेत विस्तार गर्न आग्रह गरे।
सीमा वारपार गर्ने महिला तथा बालबालिकालाई लक्षित गरी रोकथाम र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विजय थापाले सीमा निगरानीमा सहयोगी संस्थाका रूपमा आशिष सामाजिक सेवा नेपाल भित्रिनु सकारात्मक भएको बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सोनिया लिम्बूले केन्द्रले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराएकी थिइन्।
संस्थाकी शाखा इन्चार्ज सतालसिंह राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन परिचालक रोशन सुनुवारले गरेका थिए।






